व्रतबन्धको भोज खाँदा गाउँले बिरामी
तनहुँ । तनहुँको एक गाउँमा व्रतबन्धको भोज खाएका गाउँलेहरू बिरामी परेका छन् । शुक्लागण्डकी नगरपालिका– १० स्थित छब्दीमा वडाध्यक्ष रामचन्द्र भण्डारीको छोराको व्रतबन्धमा पुगेकाहरू बिरामी परेका हुन् ।
बुधवार भएको भोजमा जेरी पुरी, तरकारी र अचार खाएका अधिकांशमा झाडा पखला लाग्ने, वान्ता हुने समस्या देखिएको छ । भोज खाएर फर्किएका अधिकांशमा स्वास्थ्य समस्या देखिएपछि जिल्लाको तनहुँ सेवा हस्पिटल र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा भर्ना गरिएको छ ।
इलाका प्रहरी कार्यालय बेलचौताराले अहिलेसम्म १२ जना बिरामी अस्पतालमा भर्ना भएको जनाएको छ । प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बिरामीहरूका अवस्था खतरामुक्त रहेको जानकारी दिँदै खाना वा पानीमा विकार तत्त्व भएको हुन सक्ने बताउनुभयो । उहाँले बिरामीसँग मिल्दाजुल्दा लक्षण अन्य सहभागीहरूलाई पनि अस्पतालको पहुँचमा पुर्याउन वडाध्यक्षसँग आग्रह गरेको बताउनुभयो ।
यता वडाध्यक्ष भण्डारी स्वयं बिरामी पर्नुभएको छ । उहाँले भोजमा सहभागी भएका करिब २५ जना बिरामी भएको जानकारी दिनुभयो । उहाँका अनुसार व्रतबन्धको भोजमा झण्डै तीन सय जना सहभागी भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्