जुम्लाका ४२ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

जुम्ला । जुम्लाका झन्डै ४२ हजार बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।
जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकाका १९ महिनादेखि माथि र १५ वर्ष मुनिका ४२ हजार ४ सय २० जना बालबालिकालाई टाइफाइड विरुद्धको (टीसिभी) खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार खोपबाट बचाउन सकिने रोगहरूलाई शून्यमा झार्ने नेपाल सरकारको लक्ष्य अनुसार जुम्लामा बढ्दो टाइफाइड रोग विरुद्ध खोप अभियान सञ्चालन गर्न थालिएको हो । पूर्ण खोपको सुनिश्चितता गर्न, खोप कभरेज ९५ प्रतिशत पुराउने जिल्लामा अभियानकै रुपमा खोप दिन थालिएको छ ।
“टाइफाइड दूषित पानी र खानेकुराबाटै संक्रमण हुने रोग हो । चैत वैशाखमा धुलो धुवाँ बढ्ने, गर्मीले खानेकुरा पनि सफा नहुने भएकोले रोग फैलिने जोखिम हुन्छ । बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई खोप अभियान चलाउने तयारी गरिएको हो ।” उहाँले भन्नुभयो ।
खोपबाट कोही बालबालिका नछुट्ने गरी गाउँ तथा विद्यालयमा १ सय ९१ जनाको खोप टोली परिचालन गरिने छ । जसमा चन्दननाथका ८ हजार ५ सय ७५, कनकासुन्दरीका ४ हजार २ सय ६०, गुठिचौैरका २ हजार ७ सय ६, तातोपानीका ५ हजार ३ सय ६८ बालबालिकालाई खोप लगाइने छ ।
त्यस्तै, तिलाका ५ हजार ९ सय ६७, पातारासीका ५ हजार ३ सय ४ सिञ्जाका ४ हजार ७ सय ७४ र हिमाका ५ हजार ४ सय ६६ जना गरी १५ महिनादेखि ५ वर्ष मुनीका र ५ वर्षदेखि १५ वर्ष मुनीका ४२ हजार ४ सय २० जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने कार्यालय प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
जुम्ला प्रदेश (ख) मा चैत २५ देखि ३० र प्रदेश (क) मा २०७९ वैशाख २ देखि ७ गते सम्म दुई चरणमा खोप अभियान सञ्चालन गरिने छ ।
चार वर्षमा ३५ सय टाइफाइडका बिरामी
दूषित पानी र खानेकुराबाट फैलिने टाइफाइडका बिरामी जुम्लामा बढ्दै गएको तथ्याङ्कले देखाएको छ । ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, आद्रामा समस्या आउने, समयमै उपचार नगरे ज्यान समेत जाने टाइफाइड रोगबाट जोगाउन १५ महिनामाथि र १५ वर्ष मुनीका सबै बालबालिकालाई अनिवार्य खोपको पहुँचका ल्याइने छ ।
सरकारको तथ्याङ्क अनुसार विगत पाँच वर्षमा नेपालमा ४ लाख ५० हजार बालबालिका टाइफाइडका कारण बिरामी भएको पाइएको छ । गत चार वर्षमा जुम्लाका ३५ सय बढी बालबालिका टाइफाइडका बिरामी भेटिएका छन् ।
जस अन्तर्गत जुम्लामा आ.व. २०७५÷७६ मा ९ सय ७८ जना, आ.व. २०७६÷७७ मा १ हजार १ सय ५८ जना, आ.व.२०७७÷७८ मा ८ सय ७९ जना र चालु आवको ८ महिनामा ५ सय ९२ जना गरी चार वर्षमा जुम्लाका ३ हजार ५ सय ९७ जना नागरिक टाइफाइडका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको तथ्याङ्कमा उल्लेख छ ।
जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीले खोप अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।
उहाँले लक्षित वर्गका ४२ हजारभन्दा बढी बालबालिका अभियानबाट नछुट्ने गरी खोप अभियान सञ्चालन गर्न समेत निर्देशन दिनुभयो ।
उहाँले सबै बालबालिका विद्यालयमै नभेटिने भएकोले खोप अभियानलाई घरदैलो केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्