तपाईँ सुन्दै हुनुहुन्छः

कीर्तिमानी पत्रकार निरौला सम्मानित

सोलुखुम्बु । विश्व कीर्तिमानी पत्रकार भानुभक्त निरौला सम्मानित भएका छन् । बिहीबार विराटनगरमा आयोजित नेपाल पत्रकार महासङ्घ, प्रदेश नं १ को भेलाको अवसरमा पत्रकार निरौला सम्मानित भएका हुन् । 

कीर्तिमानी पत्रकार निरौलालाई मुख्यमन्त्री राजेन्द्र राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो, सञ्चार तथा यातायात व्यवस्था मन्त्री उपेन्द्र घिमिरे, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेल र प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरेले संयुक्त रुपमा दोसल्ला र सम्मान पत्रसहित सम्मान गर्नु भएको हो । 

मुख्यमन्त्री राईले युवा तथा जुझारु पत्रकार निरौलाले प्रसारण पत्रकारितामा दिएको योगदानको प्रशंसा गर्दै विश्व रेकर्डका लागि बधाई दिए । आर्थिक मामिला तथा योजना मन्त्री आङबो, सञ्चार तथा यातायात व्यवस्था मन्त्री घिमिरेले पनि पत्रकार निरौलाको प्रशंसा गर्नु भएको थियो ।

पत्रकार निरौलाले सन् २०२१ नोभेम्बर ८ र ९ मा काठमाडौँ स्थित हिमाल एफ.एम.को शाखा कार्यालयमा आयोजित विश्वकै लामो रेडियो अन्तरवार्तामा लगातार २५ घण्टा २६ मिनेट अन्तरवार्ता लिनुभएको थियो । सो दाबीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले १० जनवरी २०२२ मा प्रमाणित गर्दै विश्व कीर्तिमानी घोषणा गरेको थियो ।

उहाँले पर्यटनविद् आङफिन्जो शेर्पासँग पर्यटक र जलवायु परिवर्तनको विषयमा विश्वकै लामो अन्तरवार्ता लिनु भएको थियो । विश्वकै लामो अन्तरवार्ताको सूचीमा पत्रकार निरौला र पर्यटनविद् शेर्पा (दुवै)को नाम दर्ज गरिएको छ । 

यसअघि यो रेकर्ड अस्ट्रेलियाका पत्रकार र खेलाडीको नाममा थियो । उनीहरूले २४ घण्टा निरन्तर रेडियो अन्तरवार्ता गरेर रेकर्ड राखेका थिए ।

सोलुखुम्बुको सल्यानमा जन्मेका पत्रकार निरौला महासङ्घका सदस्य तथा हिमाल एफ.एम. ९०.२ मेगाहर्जका प्रबन्ध निर्देशक हुनुहुन्छ भने उनी कान्तिपुर मिडिया ग्रुपसँग पनि आबद्ध हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button