तपाईँ सुन्दै हुनुहुन्छः

‘पढ्दै कमाउँदै’ कार्यक्रम भोजपुरका दुई विद्यालयमा सञ्चालन हुने

भोजपुर । भोजपुरका दुई सामुदायिक विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सुरु हुने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भोजपुरका दुई विद्यालय ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि छनौटमा परेका हुन ।

भोजपुर नगरपालिका वडा नम्बर १२, टक्सारमा रहेको यशोधरा मावि र रामप्रसाद राई गाउँपालिका वडा नम्बर ३, भुल्केको पञ्चकन्या मावि ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि छनौट भएका हुन ।

विद्यालय छनौटमा परेकाले कार्यक्रम सुरु गरिने यशोधरा माध्यमिक विद्यालय टक्सारका प्रधानाध्यापक ध्रुवराज रेग्मीले बताउनुभयो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त कार्यक्रमका लागि सामुदायिक विद्यालयबाट प्रस्ताव माग गरेकोमा त्यहाँको निर्देशक समितिको बैठकले विद्यालयहरू छनौट गरेको थियो ।

कार्यक्रमका लागि छनौट भएका दुवै विद्यालयमा बाली विज्ञानको पठनपाठन हुँदै आएको छ । कार्यक्रम सञ्चालनका लागि छनौटमा परेका विद्यालयलाई अनुदान रकम उपलब्ध गराई विद्यार्थीलाई पढ्दै गरेका बेला कमाउने अवसर प्रदान हुने छ ।

छनौटमा परेका विद्यालयहरूलाई पहिलो चरणमा ५० प्रतिशत र दोस्रो चरणमा कार्य प्रगतिका आधारमा ५० प्रतिशत रकम उपलब्ध हुने छ ।

छनौटमा परेका विद्यालयलाई सशर्त अनुदान अन्तर्गतको अनुदान रकम स्थानीय तह मार्फत विद्यालयको खातामा उपलब्ध गराउने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button