तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा कुम्मायक–कुस्सायक अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा त्रिशाली पूजा तथा मेलाको अवसरमा कुम्मायक कुस्सायक अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता चैत २८ गतेदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा भारत सहित आठ टिमको सहभागिता रहने छ । फिदिममा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । कुम्मायक–१, यासोकस्थित पृथ्वी माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सयपत्री क्लब (निलो) ले ब्रदर्श युनाइटेड क्लब झापाको सामना गर्नेछ । 

दोस्रो खेल चैत २९ गते केएफसी झापा र खेवाङ एफसी ताप्लेजुङबीच हुनेछ । प्रतियोगिताको चौथो खेलमा चैत ३० गते सङ्गम एफसी सुनसरी र केकेएफसी झापा आमेन–सामने हुनेछन् । प्रतियोगिता अन्तर्गत पहिलो चरणको अन्तिम खेल वैशाख १ गते सयपत्री क्लब (रातो) सिलिगुढी भारतको एसटी ब्रदर्श विरुद्ध मैदान उत्रिनेछ ।

प्रतियोगिताको विजेताले नगद ३ लाख ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले नगद १ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको म्यान अफ दि म्याचलाई नगद ५ हजार रुपैयाँ र विद्यागततर्फका उत्कृष्टलाई जनही ८ हजार रुपैयाँ प्रदान गरिने आयोजक सयपत्री क्लबका अध्यक्ष शिव लाओतीले जानकारी दिनुभयो ।

त्रिशाली पूजा तथा मेलाको अवसरमा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कपसँगै भलिबल र ब्याडमिन्टन प्रतियोगिता, स्रष्टा सम्मान साथै विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूको आयोजना गरिने कुम्मायक–१, का वडा अध्यक्ष एवं पूजा तथा मेला मूल समारोह समितिका अध्यक्ष देवेन्द्र कुमार लाओतीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button