‘सञ्चार ग्रामबाट साहित्य तथा आम सञ्चारको विकासमा मद्दत पुग्छ’
विराटनगर । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सञ्चार ग्रामको सञ्चालनले यस क्षेत्रका कला संस्कृति, साहित्य तथा आम सञ्चारको विकासमा मद्दत पुग्ने बताउनुभएको छ ।

विराटनगर–४ स्थित खार्जीमा रेडियो नेपाल र विराटनगर महानगरपालिकाको सहयोगमा निमार्ण भएको ताराणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम भवनको आज साँझ उद्घाटन गर्नुहुँदै मन्त्री कार्कीले नेपाल सरकारको सात वटै प्रदेशमा सञ्चार ग्राम निमार्ण गर्ने लक्ष्य अनुसार प्रदेश १ मा निमार्ण भएको सञ्चार ग्राम देशकै नमुना भएको बताउनुभयो ।
उहाँले ताराणी प्रसाद कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदानलाई कसैले बिर्सन नहुने भन्दै उहाँको सम्झनामा बनेको सञ्चार ग्राम सञ्चालनका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकालाई आग्रह गर्नुभयो ।
सञ्चार ग्रामको संरक्षणमा जोड दिँदै यसलाई दिगो बनाउन सबैको सहयोग अपरिहार्य रहेको उहाँको भनाई थियो । सञ्चार ग्रामलाई बौद्धिक बहसका विषय स्थलको रुपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले सञ्चार ग्राम निमार्ण गर्ने आफ्नो सपना पुरा भएको बताउनुभयो ।
प्रदेश न १ का मुख्य मन्त्री राजेन्द्र कुमार राईले सञ्चार ग्रामको विकास र सञ्चालनका लागि प्रदेश सरकारको निरन्तर सहयोग रहने बताउनुभयो । ताराणीप्रसाद कोइरालाले देखाएको बाटोमा सबैले संकल्पित भएर हिँड्नुपर्ने राईले बताउनुभयो । उहाँले लोकतन्त्रलाई बलियो बनाउन काँग्रेसको नेतृत्वमा सबै दल मिलेर जानु आवश्यक रहेको धारणा राख्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले सञ्चार ग्राम शुभारम्भ भएकोमा खुसी व्यक्त गर्नुहुँदै सञ्चार ग्रामको विकासमा सबै लाग्नुपर्ने बताउनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले सञ्चार ग्रामको उद्देश्यमाथि प्रकाश पार्दै सञ्चार ग्राम सञ्चालन गर्न पाउनु सबैका लागी ठुलो खुसीको कुरा भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य अमृत अर्याल, राष्ट्रिय सभा सदस्य रमेसजंग रायमाझी, प्रदेश न १ नेपाली कांग्रेस सभापति उद्धव थापा तथा ताराणीप्रसाद कोइरालासँग जोडिनु भएको परिवारका सदस्य शान्ता घिमिरेले ताराणीप्रसादको जीवनीमाथि प्रकाश पार्नुभएको थियो ।
मन्त्री कार्की र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले भवनको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

सञ्चार ग्रामबाट आजदेखि महानगरीय एफएम समेत शुभारम्भ भएको जानकारी गराइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्