तपाईँ सुन्दै हुनुहुन्छः

मनाङ मर्स्याङ्दीलाई दमक गोल्डकपको उपाधि

झापा । झापाको दमकमा जारी दमक गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लब काठमाडौँले हात पारेको छ । आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० ले पाखा लगाउँदै मनाङले उपाधि जितेको हो ।

दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशालामा भएको फाइनल खेलको ५९ औँ मिनेटमा अफिज ओलावलेले मनाङका लागि पहिलो गोल गरे । ६७ औँ मिनेटमा शिशिर लेखीले अग्रतालाई दोब्बर बनाउँदै मनाङको जीत निश्चित गरे ।

जीतसँगै मनाङले १३ लाख ११ हजार रुपैयाँ हात पारेको छ भने उपविजेता बनेको पुलिसले ६ लाख ११ रुपैयाँमा चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ दि म्याच विजयी टोलीका मौसा भए । उनले नगद दश हजार रुपैयाँ हात पारे ।

दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा मनाङका विशाल सुनार, उत्कृष्ट डिफेन्डर नेपाल पुलिस क्लबका अञ्जान राई, उत्कृष्ट मिडफिल्डर मनाङका शिशिर लेखी, उत्कृष्ट फरवार्ड पुलिसका नीरकुमार राई, उत्कृष्ट गोलकर्ता मनाङका अफिज ओलावाले र उत्कृष्ट प्रशिक्षक मनाङका राजेन्द्र तामाङ घोषित भए । उनीहरूले जनही नगद २१ हजार प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मनाङका पूजन उपरकोटी भए । उनले टिभिएस कम्पनीको मोटरसाइकल प्राप्त गरे । प्रतियोगितामा उदीयमान खेलाडी आयोजक दमक–११ का राहुल लिम्बु भए । उनले माउन्टेन बाइक पाए ।

आयोजक दमक नगर खेलकुद विकास समितिले चन्द्रकुमार गिरीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट पुरस्कृत गरेको छ । उनी आयोजक दमक–११ प्रशिक्षक पनि हुन् । उनले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button