तपाईँ सुन्दै हुनुहुन्छः

‘सङ्घीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्छ’

विराटनगर । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सङ्घीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

सहरी विकास मन्त्रालयद्वारा विराटनगरमा आयोजित राष्ट्रिय सहरी नीति तथा सहरी विकास ऐन तर्जुमा सम्बन्धी प्रदेश स्तरीय छलफल तथा अन्तरक्रियामा मन्त्री झाँक्रीले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहको कार्य क्षेत्रबारे विवाद आवश्यक नरहेको बताउँदै सङ्घीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढाउनुपर्ने बताउनुभयो ।

मन्त्री झाँक्रीले अब केन्द्रले बजेट तथा कार्यक्रम बनाउन नहुने बताउँदै अब योजना छनोट वडा तहबाट हुनुपर्ने बताउनुभयो । मन्त्रालयले सङ्घीयता अनुसारको सहरी नीति परिमार्जन र सहरी विकास ऐन बनाउने बताउँदै यसमा सबैको अपनत्व हुने मन्त्री झाँक्रीले उल्लेख गर्नुभयो ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रप्रसाद राईले सङ्घीयताको मर्मअनुसार विकास र बजेट विकेन्द्रित हुनुपर्ने बताउनुभयो । ठूला सहरमा मात्र विकास र लगानी केन्द्रित हुँदा बसाई सराई बढेको बताउँदै उहाँले सबै क्षेत्रमा विकास पुग्ने गरी नीति परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।

सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सङ्घीयतापछि सहरी नीति परिमार्जनको टड्कारो आवश्यकता देखिएको बताउनुभयो ।

सहरी विकास भवन निर्माण विभागका उप-महानिर्देशक दिलीप भण्डारीले सातै प्रदेशमा सबैको रायसहित सहरी नीति परिमार्जन गरिने बताउनुभयो ।

मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रोशन श्रेष्ठले सहरी विकास नीति परिमार्जनबाट स्पष्ट मार्ग निर्देशन गर्ने बताउनुभयो ।

अर्जुनधारा नगरपालिकाका मेयर हरि रानाले सहरी नीति परिमार्जन तथा सहरी विकास ऐनले हाल देखिएका समस्या समाधान गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button