काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा र हराभरा बनाउन सरकारी निकायहरू प्रयासरत : मन्त्री चौधरी

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले फोहोर व्यवस्थापन, फोहोरपानीको प्रशोधन र ढल व्यवस्थापन लगायतका कार्य गरी काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा र हराभरा बनाउन सम्बद्ध सरकारी निकायहरू प्रयासरत रहेको बताउनुभयो ।
मन्त्री चौधरीले ढल तथा वर्षातको पानी व्यवस्थापन कार्यको आज बालुवाटारमा शिलान्यास गर्दै ढल तथा वर्षाको पानी व्यवस्थापनको कार्य गुणस्तरीय रूपमा तोकिएकै समयमा सम्पन्न गर्न समेत निर्देशन दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री चौधरीले दशकौँदेखि बालुवाटार क्षेत्र वर्षाका बेला जलमग्न हुने र ढलको समेत उचित निकास नहुँदा समस्या पर्ने गरेकाले यस क्षेत्रमा ढल तथा वर्षातकको पानी व्यवस्थापनको कार्य शुरू गरिएको बताउनुभयो ।
उहाँले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र र बाहिर पनि वर्षाका बेला जलमग्न हुने समस्या रहेको उल्लेख गर्नुहुँदै त्यहाँ पनि सिंहदरबार गुरुयोजनालाई प्रभाव नपर्ने गरी ढल व्यवस्थापन गर्नका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रमका सभापति खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले वर्षाका बेला पानी जम्ने, बस्ती डुबानमा पर्ने र ढल फुट्ने जस्ता समस्याबाट दशकौँदेखि काठमाडौँ उपत्यकावासी प्रभावित हुँदै आएको उल्लेख गर्नुहुँदै वैज्ञानिक किसिमले ढल तथा वर्षातकको पानी व्यवस्थापन कार्यलाई तीव्रता दिन सम्बद्ध निकायहरूलाई निर्देशन दिनुभयो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गतको काठमाडौँ उपत्यका फोहोरपानी व्यवस्थापन आयोजनाबाट काठमाडौँ महानगरपालिका वडा नं. २, ३ र ४ भित्र पर्ने प्रधानमन्त्री निवास सहित बालुवाटार क्षेत्रमा ढल तथा वर्षातकको पानी व्यवस्थापनको कार्य शुरू केयुकेएलले जनाएको छ ।
आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले बालुवाटार ढल तथा वर्षातकको पानी व्यवस्थापनको कार्य कूल रु. १० करोड ५३ लाखको लागतमा आगामी १५ महिनाभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको जानकारी दिनुभयो ।
आयोजना निर्देशक सापकोटाले यस कार्यको डिजाइन गर्दा सो क्षेत्रमा हुने सम्भावित पानीको प्रक्षेपण गरी सबै पानी बहन गर्ने क्षमता भएको संरचना छनौट गरिएको उल्लेख गर्नुहुँदै यसको सफल कार्यान्वयनसँगै विद्यमान डुबानको समस्या अन्त्य हुनेमा विश्वस्त गराउनुभयो ।
बालुवाटार ढल तथा वर्षातकको पानी व्यवस्थापन कार्य अन्तर्गत बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेट नं. १ देखि सुकुना मार्ग हुँदै टुकुचा खोलासम्म ह्युम पाइप विच्छ्याइनेछ । यस कार्यबाट बालुवाटार क्षेत्रमा रहेका प्रधानमन्त्री निवास, नेपाल राष्ट्र बैङ्क लगायत अन्य सरकारी निकाय र त्यस क्षेत्रका करिब ९ हजार २४६ जनसङ्ख्या लाभान्वित हुने छन् ।






प्रतिक्रिया राख्नुहोस्