प्रधानमन्त्रीद्वारा भर्चुअल माध्यमबाट सालिक अनावरण र भवन उद्घाटन

मुगु । प्रधानमन्त्री शेर बहादुर देउवाले सोमवार मुगुको सदरमुकाम गमगढीमा नव निर्मित सालिक र भवनको भर्चुअल माध्यमबाट अनावरण र उद्घाटन गर्नु भएको छ ।
छायाँनाथ रारा नगरपालिको आर्थिक तथा प्राविधिक सहयोगमा सदरमुकाम स्थित अदालत चोकमा निर्मित स्वर्गीय बखत बहादुर शाहीको अर्धकद सालिकको अनावरण र वि.पी स्मृति भवनको प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गर्नु भएको हो ।
भर्चुअल माध्यमबाट सञ्चालित अनावरण तथा उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै प्रधानमन्त्रीले देउवाले स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीको नेतृत्वमा रहेको नगर कार्यपालिकाले दूर दराजबाट प्रजातन्त्रका लागि लडेको र पहिलो मुगु जिल्ला विकास समिति सभापति तथा मुगु पार्टी सभापति स्वर्गीय बखत बहादुर शाहीलाई सम्मान गदै उहाँको सालिक बनाएकोले आफु सहित सिङ्गो काँग्रेस खुशी भएको र शहिद प्रति सच्चा सम्मान भएको बताउनु भयो ।

नगरपालिका कै सहयोगमा नव निर्मित २ तले वि.पी स्मृति भवनबाट विपीले देखेको समाजबाटको सपना मुगु काँग्रेसले सफल बनाउन कार्य गर्ने समेत आफूले विश्वास लिएको प्रधानमन्त्री देउवाले भन्नुभयो ।
सालिक अनावरण गरिएको स्वर्गीय बखत बहादुर शाहीलाई २०५८ साल माघ ३ गते राती घरमा खाना खाइरहेका बेला तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीका कार्यकर्ताहरूले गोली हानी हत्या गरेका थिए ।
अहिलेका उपलब्धि शहीद र जननिर्वाचित बिपी कोइरालाले खेलेको भूमिका तथा आन्दोलनबाट प्राप्त भएकाले सोही उपलब्धिबाट आफूहरूले शासन सत्ता चलाउन पाएकोले बिपी स्मृति भवन र शहिद बखत बहादुर शाही सालिक बनाएको नगरप्रमुख हरिजंग शाहीले बताउनुभयो ।
नगरपालिकाले गरेका कार्यको प्रशंसा गदै प्रमुख अतिथि पूर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्ल विशेष अतिथि नेपाली काँग्रेस मुगु सभापति ऐन बहादुर शाहीले लोकतन्त्रका लागि शहिद बखत बहादुर शाही र जननायक बिपी कोइरालाले खेलेको भूमिका बारे चर्चा गर्नु भएको थियो ।
अनावरित सालिक ६ लाख ५० हजार र बिपी स्मृति भवन श्रमदान सहित करिब १ करोड लागतमा निमार्ण सम्पन्न भएको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लले जानकारी गराउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्