तनहुँमा दुई लाख ४४ हजार ३४० मतदाता

तनहुँ । निर्वाचन आयोगले आगामी २०७९ वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि आइतबार अन्तिम मतदाता नामावलीको सार्वजनिक गरेको छ ।
तनहुँमा दुई लाख ४४ हजार ३४० जना मतदाताको नामावली सार्वजनिक भएको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
जसमा एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका छन् ।
तनहुँमा करिब ५० हजार मतदाता थपिएका छन् । पछिल्लो पाँच वर्षमा ४९ हजार ८६९ मतदाता थपिएका हुन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता थिए ।
एक लाख चार हजार ३२७ महिला र ९० हजार १४४ पुरुष गरेर २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता थिए । ६१ हजार ५२७ मतदाता मतदानमा सहभागी नै भएनन् ।
एक लाख ३२ हजार ९४४ मत गत स्थानीय निर्वाचनमा खसेको हो । त्यसमा पनि तीन हजार १५४ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
२०७४ सालमा भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमै जिल्लामा २० हजार ९७५ मतदान गर्न योग्य मतदाता थपिएका थिए ।
गत २४ माघसम्म जिल्लामा मतदाता नामावली सङ्कलन भइरहेको थियो । दुई लाख ४७ हजार ७०५ जना मतदान गर्न योग्य भएको मतदाताको विवरण निर्वाचन आयोगमा पठाइएको जिल्ला निर्वाचन अधिकृत ढकालले बताउनुभयो ।
जिल्लाका १० स्थानीय तहमा सबैभन्दा धेरै मतदाता व्यास नगरपालिकामा र कम देवघाट गाउँपालिकामा रहेको ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार व्यासमा ४७ हजार ५४२ छन् भने देवघाटमा १२ हजार ८१५ रहेका छन् ।
तनहुँमा २९७ मतदान केन्द्र
मतदाता बढेसँगै जिल्लामा मतदान केन्द्रको सङ्ख्या पनि थप गरिएको छ । यसपालि जिल्लाका १० स्थानीय तहमा २९७ मतदान केन्द्र हुनेछन् ।
मतदान स्थलको सङ्ख्या भने घटबढ भएको छैन । अघिल्लो निर्वाचनमा १३६ मतदान स्थल र २५२ मतदान केन्द्र थिए ।








प्रतिक्रिया राख्नुहोस्