भारततर्फ लैजान लागिएको २ हात्तीसहित ३ पक्राउ
बीरगंज । पर्साको पकहामैनपुर स्थित ग्रामीण क्षेत्र हुँदै नेपालबाट भारततर्फ अवैध रुपमा दुई वटा हात्ती लिएर गइरहेको अवस्थामा पर्सा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

चितवन सौराहाबाट बिक्रीका लागि अवैध रुपमा ग्रामीण क्षेत्रको बाटो हुँदै हात्तीहरू नेपालबाट भारततर्फ लैजाँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले २ हात्तीसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभयो ।
हात्तीसहित पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १८ जितपुर निवासी हात्ती माउते ६० वर्षीय बुद्धिराम महतो, सोही स्थानका हात्ती माउते ४० वर्षीय राजु कुमाल र पर्सा जिल्ला पकहामैनपुर गाउँपालिका वडा नम्बर ५ सबैठवा निवासी ३५ वर्षीय सफरोज आलम रहेको प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिइएका हात्ती तथा मानिसलाई आवश्यक कारबाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइएको खनालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्