तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा अझै वित्तीय पहुँच बढ्न सकेन 

सुर्खेत । कर्णाली प्रदेशको वित्तीय अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । कर्णालीमा प्रादेशिक वित्तीय संस्थाको उपस्थिति बारेमा जानकारी दिने उद्देश्यले सरोकारवालासँग नेपाल राष्ट्र बैङ्कले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा देशका सात प्रदेशमध्ये कर्णालीमा वित्तीय पहुँचको अवस्था अत्यन्त न्यून रहेको जानकारी दिइयो ।

कार्यक्रममा राष्ट्र बैङ्कका डेपुटी गर्भनर डा. निलम ढुङ्गाना तिमिल्सेनाले देशभर १० हजार बढी वित्तीय संस्थाका शाखाहरू रहेकोमा ती मध्ये कर्णालीमा ४४ वटा मात्र रहेको जानकारी दिनु भयो । उहाँले कर्जा र निक्षेपमा समेत कर्णालीको अवस्था अत्यन्त न्यून रहेको पाइएको बताउनु भयो । उहाँका अनुसार झण्डै ४८ सय ६३ अर्ब  निक्षेप  परिचालन भइरहेकोमा कर्णालीमा करिब ५३ अर्बको हाराहारीमा मात्र रहेको देखिएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका सुर्खेत कार्यालयका सहायक निर्देशक पूर्णबहादुर मौरती नेपालीले कर्णाली प्रदेशमा वित्तीय साक्षरताको अभाव पनि अझै कायमै रहेको बताउनु भयो । उहाँले बैङ्किङ सूचना अभावमा बैङ्किङ क्षेत्रले गर्ने कामबारे समेत कतिपय नागरिकलाई जानकारी नरहेकाले वित्तीय साक्षरता अभिवृद्धि गर्न आवश्यक रहेको औँल्याउनु भयो । कार्यक्रममा बैैकिङ तथा वित्तीय संस्थाका प्रतिनिधिसँगै, उद्योग वाणिज्य सङ्घ, विश्वविद्यालय, विद्यालय एवं राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button