नेपाल पपुवा न्युगिनीसँग ६ रनले पराजित
काठमाडौँ । युवा ब्याटर रोहित पौडेलको सानदार कीर्तिमानी शतकका बाबजुद नेपाल पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेलमा ६ रनले पराजित भएको छ ।
२ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८६ रन बनायो । रोहितले १ सय ७ बलमा ७ चौका र ४ छक्कासहित १ सय २६ रनको सानदार कीर्तिमानी शतकीय इनिङ खेले पनि टोलीको झिनो हार टार्न सकेनन् ।

नेपालको यो ओडिआई इतिहासकै सर्वाधिक ठूलो योगफल हो । ओडिआईमा यसअघि २०१९ मा युएईविरुद्ध २ सय ५५ रन थियो । पपुवा न्युगिनीसँग नेपालको ओडिआईमा पहिलो हार पनि हो ।
नेपाललाई जितको लागि अन्तिम ६ बलमा १० रन चाहिएको थियो । नर्मन भानुवाले ३ रन दिँदै जित पक्का गराए । पहिलो बल योर्कर राख्दा कमलसिंह ऐरीले एक रन बटुलेका थिए । दोस्रो बल सोमपाल कामीले डट खेले । तेस्रो बलमा लेग वाइको रुपमा एक रन बटुले । चौथो बल कमलले डट खेलेपछि नेपाललाई २ बलमा ८ रन चाहिएको थियो ।
पाँचौँ बलमा कमलले लङअफमा प्रहार गर्दै एक रन प्रहार गरे । अन्तिम बलमा जितको लागि ७ रन चाहिएको थियो । अन्तिम बलमा सोमपालले एक रन बटुले पनि नेपाल पराजित हुन पुग्यो । सोमपाल र कमल १८–१८ रनमा अविजित रहे ।
रोहित नेपालबाट ओडिआईमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बने । यसअघि २०१९ मा पारस खड्काले युएईविरुद्ध तेस्रो ओडिआई खेलमा १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट सर्वाधिक रन बनाउने ब्याटर हुन् ।
कमजोर सुरुवात गरेको नेपाललाई पाँचौँ विकेटका लागि आरिफ शेख र रोहितले १ सय ४ रनको शतकीय साझेदारी गरेका थिए । ओडिआईमा नेपालको कुनै पनि विकेटका लागि भएको सर्वाधिक साझेदारी हो । यसअघि पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेलमा पाँचौँ विकेटका लागि नै १ सय रनको शतकीय साझेदारी गरेका थिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९२ रन बनाएको थियो । ओडिआईमा पपुवा न्युगिनीको बनाएको यो हालसम्मकै ठूलो योगफल हो । यसअघि पपुवा न्युगिनीको ओडिआईमा सर्वाधिक ठूलो योगफल २०१४ मा हङकङ विरुद्ध २ सय ६४ रन थियो ।








प्रतिक्रिया राख्नुहोस्