झापामा ९ सय ९२ जना क्षयरोगका बिरामी पहिचान

भद्रपुर, झापा । झापामा आर्थिक वर्ष ०७७/०७८ मा क्षयरोगका झन्डै एक हजार बिरामी पहिचान भएका छन् ।
विश्व क्षयरोग दिवसका सन्दर्भमा जिल्ला स्वास्थ्य कार्यालय झापाले आज कार्यालय परिसरमै आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा सो आँकडा प्रस्तुत गरिएको हो ।
कार्यालयका क्षय।रोग फोकल पर्सन विश्वनाथ श्रेष्ठले अघिल्लो वर्ष जिल्लामा ९९२ क्षयरोगी पहिचान भएको जानकारी दिनुभयो ।
जिल्लामा मेचीनगर नगरपालिकामा सबैभन्दा धेरै १ सय ८८ र झापा गाउँपालिकामा सबैभन्दा कम २२ जना नयाँ रोगी भेटिएको उहाँले बताउनुभयो । यद्यपि, कार्यालयले २१ सय थपिने अनुमान गरेकोमा ११ सय जति छुटिरहेको उहाँको भनाइ थियो ।
विश्वमा सबैभन्दा बढी क्षयरोगी भएको भारतसँगको खुला सीमाका कारण झापामा क्षयरोग निवारण चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो । प्रदेश नं १ मै सबैभन्दा बढी क्षयरोगी झापामा रहेको बताइन्छ ।
श्वास प्रश्वासको माध्यमबाट सर्ने क्षयरोग बैलैमा पहिचान भई स्वास्थ्यकर्मीको निगरानीमा नियमित औषधि सेवन गर्दा निको हुने भए पनि बिरामीले रोग लुकाउने गर्दा क्षयरोगीको यकिन तथ्याङ्क सङ्कलन र उपचारमा समस्या हुने गरेको कार्यालयको भनाइ छ ।
‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ’ भन्ने नाराका साथ आज विश्वभरि यो क्षयरोग दिवस मनाइँदै छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार क्षयरोगबाट बच्न आफूलाई शङ्का लाग्नासाथ खकार जँचाएर क्षयरोग लागेको भए नियमित औषधि सेवन गरे निको हुन्छ ।
जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रमको अध्यक्षता कार्यालयका परिवार नियोजन अधिकृत शशिकुमार भट्टराईले गर्नुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्