तपाईँ सुन्दै हुनुहुन्छः

खयरमारामा पहिरो, २०० घरधुरी त्रस्त

जलेश्वर । महोत्तरी जिल्लाको उत्तरवर्ती बर्दिबास नगरपालिकाको वडा नं १० खयरमारामा भीषण पहिरो जाँदा २०० घरधुरीका परिवारमा त्रास भएको छ ।

खयरमाराको चुरे पहाडमा गए राति बस्ती नजिकै तीन तले स्थानबाट पहिरो गएकाले अहिले त्यहाँका बासिन्दा त्रस्त भएको स्थानीयवासी इसारा लामाले बताउनुभयो ।

मध्यरातसम्म साना– साना पहिरो झरे पनि आज बिहान २ बजेदेखि ठुला–ठुला र अहिले दिउँसोसम्ममा भीषण पहिरो झरेका कारण वरपरका २०० घरधुरी बासिन्दामा त्रास बढेको हो । 

तीन तलेबाट झरेको पहिराले खयरमाराको खोला पुरेपछि अहिले छोड्के, पिपलदमा, गुरुङ खोला, चनौटे, गर्दीखोला, भाङ्गरे झ्याउरे र खयरमाराको मुख्य बजार नै जोखिममा परेको स्थानीयवासीले बताएका छन् । 

खयरमाराको भित्री बस्तीमा सडक सञ्जाल नहुँदा स्थानीयवासी खोलाबाटै आवतजावत गर्दै आएकामा अहिले पहिराले खोला पुरेपछि खयरमाराबाट बर्दिबास आवतजावत गर्ने बाटो पनि बन्द भएको छ । 

वर्षायाम लाग्नुभन्दा तीन/चार महिना पहिले नै गएको बेमौसमी पहिराले त्रस्त बनेका स्थानीयवासी वर्षायाम लागेपछि हुने थप पहिराको पीडालाई अनुमान गर्दै चिन्तित भएका छन् । 

वातावरण क्षेत्रमा काम गर्दै आउनुभएका बर्दिबासका नागदेव यादवले विगत एक सातादेखि तराई मधेसमा एक्कासि बढेको अत्यधिक तापक्रमले चुरे पहाडमा रहेको खुकुलो चट्टानमा तातो र चिसोको सन्तुलन मिल्न नसक्दा पहिरो गएको बताउनुभएको छ । 

उहाँले  थप पहिरो जान सक्ने भएकाले त्यस क्षेत्रका बस्ती जोखिममा रहेको पनि औँल्याउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button