मध्यरातमा कास्की अदालतमा तोडफोड, मिसिल चोरी भएको आशङ्का
कास्की । कास्की जिल्ला अदालतमा बुधवार राति तोडफोड सहित चोरीका भएको आशङ्का गरिएको छ ।
अदालतको मूल भवन भन्दा पछाडिको भवनमा तोडफोड गरेर मिसिलहरू खोतल्ने काम भएको अदालतका सूचना अधिकारी निल पनेरुले बताउनुभयो ।

‘बिहान सफा गर्ने बेलामा कर्मचारीले थाहा पाएछन्’ पनेरुले भन्नुभयो ‘नयाँ भवन भएकोले सिसिटिभी क्यामेरा राखिएको छैन । घटना कसरी भयो भन्ने यसै भन्न सक्ने अवस्था छैन ।’
प्रहरी मुचुल्का गरेर फर्किएको छ । प्रमाण मिसिल चोरी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । यसबारेमा कर्मचारीले छानबिन गरिरहेका छन् ।
तोडफोडमा प्रयोग भएको फलामको रड फेला परेको प्रहरीले जनाएको छ । त्यही रडको फिङ्गर प्रिन्ट हेरेर अनुसन्धान अघि बढाइएको छ ।
जिल्ला अदालतको ठीक अगाडि वडा प्रहरी कार्यालय छ । तर, मध्यरातमा पछाडिको भागबाट अदालतभित्र बस्ने काम भएको पनेरुले बताउनुभयो ।
चोरीको विषयमा प्रहरीले बिहानै अदालतमा पुगेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रशासन कार्यालयका डिएसपी सुन्दर तिवारीले बताउनुभयो । घटनाको बारेमा थप पत्ता लगाउने प्रयास भएको छ । घटना स्थलबाट ताल्चा फोड्न प्रयोग भएको रड भेटिएको छ ।








प्रतिक्रिया राख्नुहोस्