तपाईँ सुन्दै हुनुहुन्छः

क्रिटिकल केयर नर्सिङ विषयमा स्नातक शुरु गर्दै निजामती कर्मचारी अस्पताल

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल)ले  क्रिटिकल केयर नर्सिङको स्नातक अध्ययन गराउने भएको छ ।

क्रिटिकल केयरमा ब्याच्लर इन नर्सिङ साइन्स (बीएनएस) अध्यापन गराउन अस्पतालले २ करोड रुपियाँ विनियोजन गरेको  अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। विधानिधी पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘चिकित्सा शिक्षा आयोगको इन्स्पेक्सन भएपछि आगामी शैक्षिक सत्रदेखि क्रिटिकल केयरमा बीएनएस नर्सिङ पढाउने अवसर पाउँछौँ र यसका लागि हामीले बजेटको सुनिश्चितता गरिसकेका छौँ ।’ अहिले अस्पतालले शिक्षक, लाइब्रेरी, कक्षाकोठा, शिक्षक तलब, नेट इन्टरनेट, परीक्षा खर्चलगायतका लागि २ करोड रुपियाँ छुट्याई काम गरिरहेको उहाँले बताउनुभयो । एमडी एमएस चलाउँदा वर्षमा करिब ५ करोड रुपियाँ खर्च हुने अस्पतालको अनुमान छ ।

अस्पताल विकास समिति बोर्डले पनि यहाँ पोष्ट ग्र्याजुएसनको एमडी, एमएस, डिएमलगायत विभिन्न एकेडेमिक कार्यक्रम चलाउने निर्णय गरिसकेको छ । उहाँले अस्पतालमा एकेडेमिक कार्यक्रम सञ्चालन भएपछि यहाँका बिरामीले पाउने सेवा सुविधाको स्तर बढ्ने, बिरामीको हेरचाहमा समेत थप सहजता हुने बताउनुभयो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एफिलेटेड भएकाले आगामी दिनहरूमा एमडी एमएसका कार्यक्रमहरूलाई विस्तार गर्दै जाने योजनामा अस्पताल रहेको उहाँले बताउनुभयो । प्रतिष्ठानको पाठ्यक्रमअनुसार एकेडेमीक कार्यक्रम सञ्चालन गर्न अस्पताल र प्रतिष्ठानबीच सम्झौता भइसकेको छ ।क्रिटिकल केयरको बिएनएस (ब्याच्लर इन नर्सिङ साइन्स) ३ वर्षे कोर्स हो ।

पिसिएल नर्सिङ पास गरेर काम गरेको अनुभवको आधारमा चिकित्सा शिक्षा आयोगले परीक्षा लिने र परीक्षामा पास भइसकेपछि न्याम्सले स्वीकृति दिएको ठाउँमा पठाइने छ । अध्ययनका लागि विद्यार्थीले आयोगमा ५ लाख रुपियाँ बुझाउनुपर्छ । बीएनएस अध्यापनका लागि निजामती कर्मचारी अस्पताललाई ३०, भरतपुर अस्पताललाई ४० र वीर अस्पताललाई ४० जना भर्ना गर्ने कोटा छुट्याएको छ । यसैगरी ब्याच्लर इन पेडियाट्रिक क्रिटिकल केयर नर्सिङका लागि कान्ति बाल अस्पतालले ४० जना नर्स अध्यापन गराउने स्वीकृति पाएको छ । यसैगरी ४० जनाको ब्याच्लर इन मिडवाइफ्री साइन्सेस (बीएमएस) अध्यापन गराउने क्षमता राखेको प्रतिष्ठानले वीर अस्पताललाई २० र परोपकार प्रशुति तथा स्त्री रोग अस्पताललाई २० जना अध्यापन गराउने कोटा छुट्याएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button