‘विराट राजवंशी महोत्सव–२०७८’ सुरु
विराटनगर । भाषा, कला र संस्कृति संरक्षण गर्दै स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा आजदेखि ‘विराट राजवंशी महोत्सव–२०७८’ सुरु भएको छ ।
विराट राजवंशी प्रगतिशील विकास समितिको आयोजनामा विराटनगर– ५ स्थित कोचाखालमा सुरु भएको महोत्सवको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घाटन गर्नुभयो ।

त्यस अवसरका मेयर पराजुलीले राजवंशी समुदायको आफ्नो छुट्टै पहिचान रहेकाले आफ्नो भाषा, कला, संस्कृति संरक्षणमा यस्ता महोत्सव उपयोगी हुने बताउनुभयो । उहाँले महोत्सवले सबै जाती समुदायलाई जोड्ने भएकाले महोत्सव सफल बनाउन महानगरको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आदिवासी समुदायको रुपमा राजवंशीको संस्कृति पश्चिमाका कारण अतिक्रमणमा पर्दै गएकोले त्यसको संरक्षण र उत्थानका लागि महोत्सव आयोजना गरिएको समितिका अध्यक्ष किरण राजवंशीले बताउनुभयो ।
महोत्सवमा राजवंशी समुदायका मौलिक खानपान, पहिरन लगायत बालबालिका तथा युवाहरूको मनोरञ्जनका लागि झुला, रोटे पिङ सांस्कृतिक कार्यक्रमसहित विभिन्न प्रदर्शनीका ६० स्टल राखिएका छन् ।

महोत्सवमा चर्चित गायक सुगम पोखरेल, शिव परियार, इन्दिरा जोशी, प्रमोद खरेल, ज्योति मगर, मेलिना राई, प्रीति आले, प्रकाश सपुत, अनु चौधरी, प्रवलदिप विश्वास र लक्ष्मण राजवंशीले आफ्ना गीत तथा नृत्य प्रस्तुत गर्नु हुने जनाइएको छ ।
नेपाल तथा भारतीय सीमावर्ती क्षेत्रका गरी ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने र ५० लाख बढीको कारोबार हुने आयोजकको अपेक्षा छ ।
महोत्सव सम्पन्न गर्न ३० लाख खर्च लाग्ने र उक्त रकम समुदायमा सङ्कलन गरिएको जनाइएको छ ।
दुई वर्षदेखि कोरोनाका कारण आम मानिसमा पुर्याएको पीडा कम गर्न महोत्सव उपयोगी हुने समितिका अध्यक्ष किरण राजवंशीको भनाइ छ ।
महोत्सव चैत १५ गतेसम्म सञ्चालन हुने छ ।






प्रतिक्रिया राख्नुहोस्