तपाईँ सुन्दै हुनुहुन्छः

‘चुनावी गठबन्धनको सम्भावनालाई नकार्न सकिँदैन’

नेपालगन्ज । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले सत्तारुढ दलहरूबिच चुनावी गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बाँके शाखाले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.महतले काँग्रेसलाई जे गर्दा फाइदा हुन्छ त्यही अनुसार निर्णय लिने बताउनुभयो । ‘हामीलाई गठबन्धन गर्दा फाइदा हुन्छ कि नगर्दा त्यो विश्लेषण गर्छौँ, भावनामा बगेर मात्र भएन, हामी पार्टीलाई फाइदा हुने गरी निर्णय लिन्छौँ’ महतले भन्नुभयो । आगामी केन्द्रीय कमिटीको बैठकले यसबारे निर्णय लिने उहाँले बताउनुभयो ।

प्रवक्ता डा.महतले काँग्रेसले चैतभित्र उम्मेदवारहरूको टुङ्गो लगाउने बताउनुभयो ।

उहाँले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई घर–घरमा पुग्न आह्वान गर्नुभयो ।

प्रवक्ता डा.महतले एमसीसीका बारेमा खडा गरिएको भ्रमको पर्दा खुलेको बताउँदै कांग्रेस सधैँ सत्यका पक्षमा उभिने पार्टी भएको बताउनुभयो । महतले एमसीसी नेपालको हितमा भएकाले काँग्रेसले सत्तामा रहँदा वा प्रतिपक्षमा रहँदा पनि सधैँ एउटै बोली बोलेको बताउनुभयो । उहाँले एमसीसी पारित भएपछि नेपालको इज्जत र साख बढेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button