मध्यपुर ठिमी नगरपालिकामा ४५६ घरपरिवारलाई लालपुर्जा वितरण

भक्तपुर । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहीनहरूलाई आज जग्गा धनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गर्नु भएको छ ।
मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ र ७ तथा साबिकको वडा नं. ६ र ८ को गाउँब्लकमा रहेका भूमि विहीनहरूलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षसम्ममा गाउँब्लकमा रहेका सबै भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने गरी काम अगाडी बढाइएको जानकारी दिनुभयो ।

मध्यपुर ठिमी नगरपालिकाको गाउब्लकमा रहेका ४५६ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ ।
मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गर्नु भयो ।
मन्त्री श्रेष्ठले भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम शुरु गरिसकेको भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्या दिगो रुपमा नै समाधान गर्न आफू लागिरहेको पनि बताउनुभयो ।

उपत्यका र विशेष गरी भक्तपुरमा रहेका स्ववासी र बेनिस्साको समस्या समाधान गर्न प्रक्रिया शुरु गरिसकेको भन्दै मन्त्री श्रेष्ठले मुक्त कमैया, कमलरी, हरुवा र चरुवाको समस्या समाधान गर्न अध्ययन समिति बनाएर अध्ययन गर्ने काम भइरहेको र प्रतिवेदनले दिने सुझाव अनुसार काम अघि बढ्न आफू प्रतिबद्ध रहेको पनि बताउनु भयो ।
मन्त्री श्रेष्ठले संविधानमा भएको रोजगारीको हकको कार्यान्वयनका लागि शहिद, बेपत्ता परिवारका छोराछोरी, हरुवा चरवा र वादी समुदायका युवा तथा उनीहरूका सन्तानलाई विशेष नापीको तालिम केही समयमा नै शुरु गरिने पनि बताउनु भयो ।

मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुषा, सुनसरी र चितवन र काठमाडौँको कीर्तिपुर नगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहीनहरूलाई लालपुर्जा वितरण गरिसक्नुभएको छ ।
मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म देशभरको गाउँब्लकमा रहेका १५ हजार घरपरिवारलाई लालपुर्जा वितरण गरी सकिएको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँ ब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपुर्जा विहीन बनिरहेकाहरूलाई लालपुर्जा वितरण अभियान तीव्र पारिएको छ ।









प्रतिक्रिया राख्नुहोस्