एमसिसीका कारण अमेरिकी सेना नेपाल आउन नसक्ने : गृहमन्त्री खाँड

कपिलवस्तु । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले एमसिसि परियोजनाका कारण अमेरिकी सेना नेपाल आउन नसक्ने बताउनुभएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका जितपुरमा लागेको १२ औँ कपिलवस्तु महोत्सवको समुद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले एमसिसि परियोजनाबाट विद्युत् र सडकको परियोजनाको लागि मात्र रहेकोले सेना आउने प्रसङ्ग नरहेको स्पष्ट पार्नु भयो ।
अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै कुनै पनि देशको सेना आएमा आफू अग्रपङ्क्तिमा बसेर लड्न समेत तयार रहेको मन्त्री खाँणले बताउनुभयो । महोत्सवमा सम्बोधन गर्दै मन्त्री खाँडले परियोजनाले देशको आर्थिक गतिविधिलाई उजागर गर्ने दाबी गर्नुभयो ।
उहाँले जलस्रोतको धनी मुलुक नेपालमा ठुला र साना गरी ६ हजार नदी भए पनि जलविद्युत पुरा उत्पादन गर्न नसकेको बताउनुभयो । वर्षा याममा धेरै विद्युत् उत्पादन भई खेर जाने समस्या छ हिउँदमा नपुगेर भारतबाट ल्याउनु पर्ने बाध्यता रहेको जनाउनु भयो ।
नेपालमा उत्पादन भएको विद्युत् बाहिर विक्री गर्न सकिएमा व्यापार घाटा कम हुन सक्ने बताउनुभयो । उहाँले सरकारले आम नागरिकलाई विद्युतको खपत बढाउन मूल्य घटाउन तयार रहेको बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थको उपभोग घटाउनको लागि विद्युत् उत्पादन र प्रयोग गर्नुको विकल्प नरहेको बताउनुभयो ।
अहिले नेपालमा महँगाई बढेको चर्चा गर्दै रुस र युक्रेनको युद्धको कारणले इन्धनको मूल्य बढेको बताउनु भयो । इन्धनको मूल्य बढ्यो भन्दैमा व्यवसायीले गोदाममा रहेको स्टक सामानको मूल्य वृद्धि नगर्न आग्रह गर्नुभयो ।
महोत्सवमा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले स्वदेशमा उत्पादन भएका सामाग्रीले महोत्सवमा स्थान पाउने हुँदा स्थानीय उत्पादनको खपत बढ्ने बताउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य बलराम अधिकारीले महोत्सवले कपिलवस्तुको उद्योग तथा पर्यटनको विकासमा टेवा पुग्ने बताउनुभयो । कपिलवस्तु महोत्सव चैत्र ३ गते देखि १३ सम्म चल्ने छ ।








प्रतिक्रिया राख्नुहोस्