अन्तर्राष्ट्रिय आमन्त्रण भोजपुर गोल्डकप : तेश्रो खेलमा रुपन्देहीले उदयपुरलाई हरायो

भोजपुर । पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा गोर्खा ब्वाइज रुपन्देही विजयी भएको छ । बसाहा क्लब उदयपुरलाई १ का विरुद्ध ३ गोल गर्दे रुपन्देही सेमिफाइनल प्रवेश गरेको हो ।
बसाहा क्लबका लागि जर्सी नम्बर ११ का प्रदीप कार्कीले खेलको ४७ औ मिनेटमा १ गोल मात्र गर्न सफल हुनुभयो । रुपन्देहीका तर्फबाट जर्सी नम्बर १० का यानिकले खेलको ३६ औ र ८१ औ मिनेटमा २ गोल गर्नुभयो । त्यस्तै खेलको ८१ औ मिनेटमा रुपन्देहीका तर्फबाट जर्सी नम्बर ११ का खेलाडी सुमित खडकाले १ गोल गरी आफ्नो टिमलाई सेमिफाइनलको यात्रामा पुर्याउनु भयो । प्रतियोगिताको म्यान अफ द म्याच रुपन्देहीका यानिक हुनुभयो ।
भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा चैत्र १ गतेबाट नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत शुक्रवारको अन्तिम खेल अमुक्ता परिवार, वेस्ट बङ्गाल भारत र सतासीधाम स्पोर्टिङ क्लब झापाका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।
मङ्गलवार भएको पहिलो खेलमा मोरङको सगरमाथा यूथ क्लबलाई हराउँदै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घको टिम सेमिफाइनलमा पुगेको छ भने बुधवार भएको दोस्रो खेलमा भगवती स्पोर्ट्स क्लब खोटाङलाई जित्दै राष्ट्रिय जागृति क्लब सुनसरी सेमिफाइनल प्रवेश गरेको छ ।
३० लाख २७ हजार ५५ रुपैयाँको लागतमा चैत्र १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अमुक्ता परिवार, वेस्ट बङ्गाल भारत, भोजपुर फुटबल क्लब, सगरमाथा यूथ क्लब मोरङ, राष्ट्रिय जागृति क्लब सुनसरी, भगवती स्पोर्ट्स क्लब खोटाङ, बसाहा क्लब उदयपुर, सतासीधाम स्पोर्टिङ क्लब झापा र गोर्खा ब्वाइज रुपन्देही गरी ८ टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगिता सञ्चालनका लागि मुख्य प्रायोजक भोजपुर नगरपालिकाले २५ लाख, सहप्रायोजक चौधरी ग्रुपको एक लाख र राष्ट्रिय वाणिज्य बैङ्कको एक लाख सहयोग रहने छ । प्रतियोगिताको विजेताले नगद पाँच लाख, उपविजेताले नगद तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।







प्रतिक्रिया राख्नुहोस्