तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा बागमती प्रदेश स्तरीय कृषि गणना कार्यालयको स्थापना

मकवानपुर । नेपाल सरकार राष्ट्रिय कृषि गणना–२०७८ का लागी केन्द्रीय तथ्याङ्क विभागले हेटौँडामा बागमती प्रदेश स्तरीय कृषि गणना कार्यालयको स्थापना गरेको छ । प्रदेश राजधानी हेटौँडा–११ स्थित थानाभर्याङमा मङ्गलवार कार्यालय स्थापना गरिएको हो ।

कार्यालयले कृषि संरचना, कृषि गतिविधि तथा कृषि उत्पादन सम्बन्धी विवरण सङ्कलन गरिने प्रदेश कृषि गणना अधिकृत राजेश दासले जानकारी दिनुभयो । ७ औँ राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङ्क सङ्कलन आगामी वैशाख ६ देखि जेठ १९ सम्म सञ्चालन हुने दासले बताउनुभयो । कृषि गणनामा सूचीकरण, मुख्य प्रश्नावली र सामुदायिक प्रश्नावली गरी गणना गरिने छ ।

राष्ट्रिय कृषि गणना देशभर सञ्चालन हुने एक बृहत् एवं महत्त्वपूर्ण कार्य भएकाले यस कृषि गणना २०७८ मा ६ हजार जना गणक, १ हजार ५ सय जना सुपरिवेक्षक, ७ जना प्रदेश कृषि गणना अधिकृत, ७० जना जिल्ला कृषि गणना अधिकृत, ७७ जना सहायक कृषि गणना अधिकृत एवं अन्य कर्मचारीहरूसमेत गरी करिब ८ हजार जना कर्मचारीहरू प्रत्यक्ष रुपमा संलग्न उहाँले बताउनुभयो । मकवानपुरमा १ सय ८५ गणना क्षेत्रमा ९८ जना गणक तथा सुपरिवेक्षकहरू रहने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button