महिला हिंसाका सवालमा सबै गम्भीर हुनुपर्छ: राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला हिंसाका कुरालाई सामाजिक समस्याका रुपमा लिएर यसको निरूपण गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा दक्षिण एसियाली महिला सम्मेलनमा सहभागी भइरहेका सार्क देशका महिला प्रतिनिधि मण्डलसँग आज भएको भेटमा राष्ट्रपति भण्डारीले नेपालको परिप्रेक्ष्यमा महिलाको सवालमा थुप्रै प्रगतिहरू भए पनि महिला हिंसाका घटनाहरू अझै पनि विभिन्न रुपमा हुने गरेकाले यसको न्यूनीकरणका लागि अझ बढी जागरणको खाँचो औँल्याउनुभयो ।
राष्ट्रपति भण्डारीले सार्क क्षेत्रमै महिला हिंसा न्यूनीकरणका लागि साझा अभियान नै सञ्चालन गर्न सके थप फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले महिलाको सवालमा सबै देशले कडा कानुन बनाएर त्यसको सफल कार्यान्वयनमा जोड दिनु अहिलेको आवश्यकता भएको पनि बताउनुभयो ।
कार्यक्रममा दक्षिण एसियाली महिला सम्मेलनमा सहभागी हुन आउनुभएका भारत, श्रीलङ्का, पाकिस्तान, माल्दीभ्स, बङ्गलादेश लगायतका महिला प्रतिनिधिहरूले महिला हिंसाका सवालमा सार्क राष्ट्रका महिलाहरू सामूहिक रुपमा उठ्न सके यस क्षेत्रमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।
तस्वीरः सुनिल बज्राचार्य, राष्ट्रपतिको कार्यालय








प्रतिक्रिया राख्नुहोस्