डडेलधुरा महोत्सव चैत ८ गतेबाट सुरु

डडेलधुरा । डडेलधुरामा ‘डडेलधुरा महोत्सव २०७८’ हुने भएको छ ।
अमरगढी नगरपालिकाको आयोजनामा चैत ८ गतेदेखि १० गतेसम्म टुँडिखेलमा ‘डडेलधुरा महोत्सव २०७८’ हुने भएको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाले महोत्सव बारे जानकारी दिएको हो ।
रजत जयन्तीको अवसर पारेर प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गर्न लागेको नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताउनुभयो ।
‘हामीले आफ्नो कार्यकालको अन्तिम समयमा महोत्सव गर्ने अवसर पाएका छौँ । यो एउटा सुनौलो अवसर हो । महोत्सवले अमरगढीको मात्र नभएर डडेलधुरासहित सुदूरपश्चिमको पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्नेछ,’ उनले भने, ‘सुदूरपश्चिममा थुप्रै पर्यटकीय स्थल भएपनि प्रचार–प्रसार हुन नसक्दा ओझेलमा परेको छ ।
महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण गर्ने नगरप्रमुख ओझाले जिकिर गर्नुभयो । महोत्सवमा सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणमा जोड दिइनेछ ।
प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गरिन लागिएकोले कर्णाली पारीका कुनै पनि कलाकारलाई महोत्सवमा स्थान नदिइने ओझाको भनाइ रहेको छ । महोत्सवमा सुदूरपश्चिमका राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै हुडकेली, छलिया, देउडालगायतका स्थानीय प्रस्तुति हेर्न सकिनेछ । महोत्सव निःशुल्क हेर्न पाइने जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्