तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा बर्डफ्लू भेटिएसँग कुखुरा फार्महरूको अनुगमन, सीमा क्षेत्रमा उच्च निगरानी 

बीरगंज । बीरगंजमा बर्डफ्लू भेटिएसँगै पर्सा जिल्लामा रहेका कुखुरा फार्महरूको अनुगमन तथा नेपाल भारत सीमामा उच्च निगरानी राखिएको छ । 

वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीस्थित सागिर अन्सारीको कुखुरा फार्ममा बर्डफ्लू भेटिएपछि जिल्लास्थित नेपाल–भारत सीमामा रहेका सबै कुखुरा फार्मको आजबाट अनुगमन सुरु भएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो ।

वीरगन्ज महानगरपालिका–१५ भेडियाहीस्थित सागिर अन्सारीको फार्मका कुखुरा र कुखुराजन्य वस्तुहरू नष्ट गरिसकेपछि आजबाट सरोकारवालाहरूको संयुक्त टोलीले सीमामा रहेका सम्पूर्ण कुखुरा फर्महरूको अनुगमन सुरु गरेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । 

वीरगंज तथा पर्साका अन्य फार्मका कुखुरामा पनि बर्डफ्लू रोग फैलिएको हुनसक्ने आशङ्का रहेकाले विज्ञसहितको सुरक्षाकर्मीको टोलीले सबै फार्मको अनुगमन गर्ने ढकालले जानकारी दिनुभयो । 

वीरगन्ज महानगर तथा जिल्लाका ग्रामीण भेगमा ठूलो सङ्ख्यामा सीमावर्ती क्षेत्रमै कुखुरा फार्म रहेका छन् । भारतमा पटक पटक बर्डफ्लू संक्रमण देखिँदै आएकाले भारतबाट नेपालमा कुखुरा तथा कुखुराजन्य वस्तु आयातमा प्रतिबन्ध छ । 

तर सीमामा रहेका कुखुरा फार्महरूले भारतबाट कुखुराका चल्ला, वयस्क कुखुरा तथा दाना आदि लुकाई छिपाइ ल्याउने गरेको गुनासो जनस्तरबाट आएको छ । जनगुनासोसँगै सीमा क्षेत्रबाट बर्डफ्लू भित्रिन सक्ने आशङ्काले उच्च सतर्कता अपनाउँदै थप सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । 

अन्सारीले सञ्चालन गरेको पर्सा कुखुरा फर्ममा अण्डा उत्पादन गर्ने कुखुराहरूमा बर्डफ्लू संक्रमण पुष्टि भएसँगै १ हजार ९ सय कुखुरा मरेका थिए । 

अहिले सो फार्ममा रहेका जिउँदा कुखुरा, अण्डा, दाना लगायत कुखुराजन्य सम्पूर्ण पदार्थ नष्ट गरी सो फार्मलाई सिल गरेर निसंक्रमण गरिएको जिल्ला पशु क्वारेनटाइन कार्यालय पर्साबाट डा हरेराम यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button