काँग्रेस सर्लाही जिल्ला कार्य समितिका लागि मतदान सुरु

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको जिल्ला कार्य समितिको सभापति तथा पदाधिकारीसहित विभिन्न पदका लागि मतदान सुरु भएको छ ।
सर्लाहीको मलङ्गवा नगरपालिकास्थित पब्लिक मा.बि.मा कडा सुरक्षाकाबीच आज मतदान प्रक्रिया बिहान साढे ९ बजेदेखि सुरु भएको हो ।
जिल्ला अधिवेशनका लागि सर्लाहीको २० वटा पालिकाका २ सय वटा वडाबाट छानिएर आएका क्षेत्रीय प्रतिनिधिहरूले मत खसाल्न पाउने छन् । जिल्लामा ३ हजार २ सय ८७ जना क्षेत्रीय प्रतिनिधि अर्थात् मतदाता रहेको र हालसम्म करिब ८ सयसम्म मत खसिसकेको नेपाली कांग्रेस जिल्ला निर्वाचन समितिले जनाएको छ।
बेलुका मतदान सकिनासाथ मतगणना सुरु गर्ने गरी निर्वाचन समितिले तयारी गरेको छ ।
सर्लाहीमा जिल्ला सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्र प्रसाद सिंह तथा संस्थापन इतरबाट पूर्व जिल्ला सभापति लक्ष्मण रायले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यस्तै, उपसभापतिमा संस्थापन पक्षबाट दुई जना शेख सदहदुल्ला र डा.सरोज कुमार (राजु)को उम्मेदवारी परेको छ भने संस्थापन इतरबाट नवीन अधिकारी र अरविन्द चौधरी (पप्पु) को उम्मेदवारी परेको छ ।
त्यस्तै, सचिवमा संस्थापन पक्षबाट निरज कार्की र मनोज यादव तथा संस्थापन इतरबाट नरेन्द्र भट्टराई र कृष्ण राज रायमाझीको उम्मेदवारी परेको छ ।








प्रतिक्रिया राख्नुहोस्