तातोपानी नाकाबाट हुने आयातमा गिरावट, दैनिक ५ कन्टेनर मात्र सामान भित्रँदै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित तातोपानी नाकाबाट दैनिक ५ कन्टेनर मात्र सामान भित्रिन थालेको छ ।
नेपाली व्यापारीले चिनियाँ बजारबाट सामान खरिद गर्न छोडेपछि नेपाल र चीन बीचको उत्तरी तातोपानी नाकाबाट हुने आयातमा व्यापक गिरावट आएको हो ।
सरकारले लेटर अफ क्रेडिट स्याम्पल (एलसी ) प्रणाली लागु गरेपछि नेपाल चीनको व्यापार नै प्रभावित भएको छ । अहिले नाकाबाट स्याउ मात्र भित्रिएको छ भने इलेकट्रोनिक, मेशिनरी र रेडिमेडजन्य सामाग्री आयत ठप्प जस्तै भएको छ ।

तातोपानी भन्सार कार्यालयको अनुसार नेपाल भित्रिने चिनियाँ सामाग्री तिब्बतको पार्किङ क्षेत्रमा स्टक छैन । सरकारले लागु गरेको एलसी प्रणालीबाट आयातमा असर परेको भन्सार अधिकृत नारद गौतमको भनाई छ ।
नेपाली व्यापारीले यसअघि टेलिग्र्राफिक, ट्रान्सफर (टीटी ) प्रणालीबाट चिनियाँ कम्पनीसँग सामान खरिद गर्थे । टीटी गर्दा बैङ्क ग्यारेन्टी भए पुग्थ्यो भने अहिले एलसी प्रणालीको कारण नगदै डिपोजिट गर्नुपर्छ । जुन झन्झटिलो हुने हुँदा चीनबाट व्यापारीले सामान खरिद गर्न सकिरहेका छैनन् । सुरुमा नै लगानी गर्नुपर्ने भएपछि ऋणको भरमा व्यापार गर्दै आएका व्यापारीलाई भने अप्ठ्यारोमा पारेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले बताउनुभयो ।
एकातिर चिनियाँ सामान नेपाल भित्रिन नै समय लाग्ने र अर्कोतिर ऋण काढेर लगानी गरेको लामो समयसम्म ब्याज तिर्नुपर्ने अवस्था आउने भएपछि नेपाली व्यापारीहरू हच्किएको व्यापारी आङदोर्जे शेर्पा बताउनुहुन्छ ।
हुन पनि सीमा क्षेत्रमा आउनुपर्ने मालवाहक कन्टेनरलाई चिनियाँ पक्षले महिनौँसम्म चीनको स्वशासित क्षेत्र तिब्बतको खासा, सिगात्से र केरुङको पार्किङ क्षेत्रमा राख्दै आएको छ । जसले गर्दा हिउँदको सामान गर्मीमा, गर्मीका सामान हिउँदमा नेपाल भित्राउनुपर्ने बाध्यता नेपाली व्यापारीले भाग्दै आएका छन् ।

एकातिर दैनिक मालवाहक कन्टेनर महिनौँसम्म नेपाल भित्रन अनुमति नदिने र अर्कोतर्फ सरकारले एलसी प्रणाली लागु गरेपछि नेपाली व्यापारीहरू हच्किएका हुन् ।
चीनबाट आयात हुने सामानमा गिरावट आएपछि अहिले नेपाल चीन बीचको उत्तरी तातोपानी नाका सुनसान बन्न थालेको छ ।








प्रतिक्रिया राख्नुहोस्