तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाम उपमहानगरपालिकाद्वारा साढे चार करोडको लागतमा शालिक निर्माण 

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले मुजेलियामा जनकपुर ढल्केवर ६ लेन सडक आयोजना अन्तर्गत निर्माण गरेको शहिदद्वारको आज उद्घाटन गरिने भएको छ । 

जनकपुरधाम उपमहानगरपालिकाको करिब साढे चार करोडको लागतमा शहिदद्वारको निर्माण सम्पन्न भएको जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ  इन्जिनियर वीरेन्द्र यादवले जानकारी दिनु भयो । 

शहिदद्वारको निर्माण धनुषा आकारको रहेको छ । धनुषको माथिको भागमा भगवान् श्रीरामले धनुषमा प्रत्यञ्चा चढाएको आकर्षक मूर्ति राखिएको छ भने मधेश आन्दोलनको क्रममा शहादत दिएका तीन जना सहिदहरू नितु यादव, सञ्जय चौधरी र दिलीप यादवको अर्ध कदको शालिक राखिएको छ । 

यसै गरी मधेश आन्दोलनको क्रममा शहादत दिएका सबै मधेशी शहीदहरूको नाउँ शिलापत्रमा राखिएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जानकारी दिनु भएको छ । मधेश आन्दोलनको क्रममा  जनकपुरधाममा  शहादत  दिएका तीनै जनको सामूहिक दाहसंस्कार सोही ठाउँमा गरिएको थियो ।  

यसैगरि सबै मधेशी शहीदहरूको नाउँ शिलापत्रमा उल्लेख गरेर राख्ने काम भएको छ । निक्कै भव्य शहिदद्वारको निर्माण भएको छ । जनकपुरधामको गरिमालाई झल्काउने किसिमले धनुष आकारको शालीन रहेको छ  । 

शहिदद्वारको निर्माण भएको अवसर पारेर सो ठाउँमा आज साँझ धार्मिक अनुष्ठानको आयोजना गरिएको छ । जनकपुरधामको जनक चौक र रामचौकको बीचमा निर्माण भएको ध्वजाको पनि शुभारम्भ तथा दुवै ठाउँमा धार्मिक  अनुष्ठानको पनि आयोजना गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button