अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचन हुने गरी कुनै पनि कानुन नल्याइने : मन्त्री कार्की

काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचन हुने गरी कुनै पनि कानुन नल्याइने बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कार्कीले सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको भन्दै अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचन हुने गरी कुनै पनि कानुन निमार्ण नगरिने स्पष्ट पार्नुभयो ।
उहाँले युट्युबलाई नियन्त्रण गर्न नभई व्यवस्थित र मर्यादित बनाउन खोजेको बताउनुभयो ।
बिहीबार बसेको मन्त्री परिषद्का निर्णय सार्वजनिक गर्नुहुँदै प्रवक्ता कार्कीले बन्चरे डाँडा ल्याण्डफिल साइडमा देखिएका स्थानीय समस्या समाधानका लागि विगतमा भएका प्रतिबद्धताहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध र क्रियाशील रहेको बताउनुभयो ।
उहाँले बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनका क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरिएको पनि जानकारी दिनुभयो ।
यस्तै, बैठकले त्यहाँ कुनै समस्या आएमा समाधानका लागि ‘र्यापिड रेस्पोन्स’ टोली बनाउने निर्णय समेत गरेको छ ।
यस्तै, नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा सुर्खेतका उमेशप्रसाद थानीलाई नियुक्त गर्ने निर्णय भएको पनि प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
यस्तै, बैठकले बङ्गलादेशको राजधानी ढाकामा आगामी मार्च ८ देखि ११ सम्म हुने ३६ औँ एसियाड सम्मेलनमा सहभागी हुनका लागि कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव नेतृत्वको टोलीलाई स्वीकृत दिने निर्णय गरेको छ ।
यस्तै, मन्त्रिपरिषद्को बैठकले आगामी चैत १४ गते अमेरिकाको राजधानी न्यूयोर्कमा हुने कार्यक्रमका लागि सचिव डा.प्रेमनारायण कँडेललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको पनि प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
साउदी अरबका परराष्ट्र मन्त्रीले यही फागुन ३० गतेदेखि चैत १ गतेसम्म गर्नुहुने नेपाल भ्रमणमा द्विपक्षीय वार्ताका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।
यस्तै, बिहीबार बसेको मन्त्री परिषद्को बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई संयुक्त अरब इमिरेट्स (युएई), सेशेल्स र कतारको भ्रमण गर्न स्वीकृत दिने निर्णय गरेको छ ।
प्रवक्ता कार्कीले मन्त्री स्तरीय भ्रमणले वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाई विश्वसामु नेपालको सम्बन्धलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै, मन्त्रिपरिषद्को बैठकले तुलसीपुर उपमहानगर पालिका र स्पेनको बिलबाओ नगर परिषद्बीच भगिनी सम्बन्ध कायम गर्ने स्वीकृति दिने , फोहोर मैला व्यवस्थापनसम्बन्धी कानुनको मस्यौदा तयार गर्न सहमति प्रदान गर्ने र राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्र र सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृति गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, बैठकले पत्रकार दुर्घटना बीमा (व्यवस्थापन ) पहिलो संशोधन निर्देशिका, २०७८, वन्यजन्तुमैत्री पूर्वाधार निमार्ण निर्देशिका, २०७८, निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहनबृत्ति उपलब्ध गराउने निर्देशिका, २०७८, औद्योगिक व्यवसाय नियमावली, २०७८ र सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधन स्वीकृत गर्ने समेत निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
यस्तै, बैठकले सुर्खेतमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको स्वामित्वमा रहेको ९ कट्ठा ४ धुर जग्गा नेपाल राष्ट्र बैङ्कलाई बिक्री गर्न स्वीकृत दिने निर्णय समेत गरेको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक (भिडियो ):








प्रतिक्रिया राख्नुहोस्