भुसले छोपेर लैजाँदै गरेको काठसहित तीन जना नियन्त्रणमा

बारा । डिभिजन बन कार्यालय बाराले तीन जना मानिस सहित काठले भरिएको ट्याक्टर नियन्त्रणमा लिएको छ । तामागढी कोल्हबी सड्क खण्डबाटबाट सुबेदार ध्रुव कुमार कुटुवालको नेतृत्वमा गएको टोलीले करिब ५२ क्युफिट चिरानको काठ बरामद गरेको हो ।
भुसको बोराले छोपेर ट्याक्टरमा काठ लोड लैजाँदै गरेको अवस्थामा बन गस्ती टोलीले तीन जना मानिस सहित काठ नियन्त्रणमा लिएको डिभिजन बन कार्यालय सिमरा, बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो ।

बिहान तीन बजे काठ लोड गरिएको ना४त ७७९ नम्बरको ट्याक्टरलाई बा ६४ प ७८३४ नम्बरको स्कुटरमा बसी निजगढ नगरपालिका वडा नं.८ बस्ने बर्ष २९ का चन्द्र माझी र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ टाँगियाबस्ती बस्ने बर्ष २२ का सेरफ दुर्जे बम्जनले स्कटिङ्ग गर्दै लग्दै थिए ।
नियमित गस्तीको क्रममा गएको बन गस्ती टोलीलाई देख्ने बित्तिकै काठ लोड गरिएको ट्याक्टरका चालक निजगढ नगरपालिका वडा नं.८ बस्ने बर्ष २८ का सन्तोष कुश्वार माझीले ट्याक्टरलाई तीव्र रुपमा कुदाएको डिभिजन बन प्रमुख अहमदले बताउनुभयो । शङ्का लागि ट्याक्टरलाई पछ्याउँदै गरेको बन गस्ती टोलीले करिब दुई कि.मि.को यात्रा तय गरेर ट्याक्टरलाई पक्राउ गर्न सफल भएको थियो ।

ट्याक्टर रोक्ने बित्तिकै ट्याक्टरमा सवार तीन जना ज्याला मजदुरी गर्ने मानिसहरू फरार भएका छन् । ट्याक्टरलाई स्कुटरले स्कटिङ्ग गरेका मानिसहरूले बन गस्ती टोलीलाई आर्थिक प्रलोभनमा पार्ने कोसिस गरेका थिए । कुनै किसिमको प्रलोभनमा नपरेको बन गस्ती टोलीले बन्दुक देखाउँदै पक्राउ परेका तीनै जनालाई डिभिजन बन कार्यालय बाराको नियन्त्रणमा ल्याउन सफल भएको हो ।
पक्राउ परेका काठ सहितको ट्याक्टरलाई नियन्त्रणमा राखी पक्राउ परेका तीनै जना माथि थप अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय सिमरा बाराले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्