विश्व मिर्गौला दिवस जनचेतना मूलक कार्यक्रम गरी मनाइँदै

भक्तपुर । आज फागुन २६ गते अर्थात् मार्च १० विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदैछ ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मिर्गौला दिवसको अवसरमा बिहान काठमाडौँको शान्ति बाटिकाबाट मिर्गौला पथयात्रा गर्दै दशरथ रङ्गशालासम्म पुग्ने कार्यक्रम रहेको बताउनुभयो ।
आजै प्रत्यारोपित अङ्गदाता, चिकित्सक, कलाकार ,पत्रकार, समाजसेवी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि हुनेछ ।
दिवसको अवसरमा रङ्गशालामा आयोजित समारोहमा मस्तिष्क मृत्युबाट हुने अंगदान तथा अङ्ग प्रत्यारोपण जस्ता कार्यक्रमलाई विशेष जोड दिइने भएको छ । उक्त कार्यक्रममा विशिष्ट व्यक्तिबाट अंगदान समेत हुने भएको छ ।
आजै स्वास्थ्य सेवा दिवसको दिन अङ्ग दान घोषणा गर्नु भएका स्वास्थ्य मन्त्री, मुख्य सचिव, स्वास्थ्य सचिव लगायत विशिष्ट व्यक्तिहरूलाई अंगदान कार्ड वितरण पनि गरिने निर्देशक डा. श्रेष्ठले बताउनुभयो ।
यसैबीच नेपालमा हरेक वर्ष करिब ३ हजार मिर्गौला सम्बन्धी रोगका बिरामी थपिदैं गएको केन्द्रले जनाएको छ ।
केन्द्रकी डा. कल्पना श्रेष्ठले केही वर्ष अगाडी सम्म १ हजार २ सयको हाराहारीमा रहेका मिर्गौलाका रोगीहरूको सङ्ख्यामा वृद्धि भएर अहिले ५ हजार ५ सयको हाराहारीमा पुगेको बताउनुभयो ।
सरकारले राजधानीमा २७ र देशभर ७३ स्थानमा निःशुल्क डायलिसिस गर्ने व्यवस्था गरेपनि आवश्यक उपकरण र जनशक्तिको अभावमा सोचेजस्तो सेवा प्रवाह हुन नक्दा बिरामीले समयमा उपचार पाउन सकेका छैनन् ।
केन्द्रमा हाल ३५ वटा डायलिसिस गर्ने मेशिन चालु रहेका छन् । ‘एक जना बिरामीको हप्ता कम्तीका दुई पटक डायलिसिस गर्नु पर्ने हुन्छ । त्यसकालागि ४ घण्टा समय लाग्दछ । हामी कहाँ अहिले ३ सय ३१ जना पालो कुरेर बस्नु भएको छ,’ डा. कल्पनाले भन्नुभयो । मधुमेह र उच्च रक्तचापको नियमित औषधी सेवन गरिहरेकाहरूले वर्षको एक एक पटक भएपनि आफ्नो मिर्गौला जाँच गर्नु पर्न केन्द्रका डा. सुमित आचार्य बताउनुहुन्छ ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हाल दैनिक १ सय २० जनाको डायलिसिस गर्दै आइरहेको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो । केन्द्र स्थापना भएको १० वर्षमा ८ सय २२ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ भने ६ जनाको कलेजो समेत केन्द्रमा प्रत्यारोपण गरिएको छ । पारिवारिक साटासाट अन्तर्गत ३७ जोडीको मिर्गौला प्रत्यारोपण गरिएको केन्द्रले जानकारी दिएको छ ।
केन्द्रमा सबैलाई डायलिसिस गर्न समस्या भएकाले गणेशमान वाटिकाको जग्गा भाडामा लिएर ३ महिनाभित्र १०० सय बेडको डायलिसिस केन्द्र सञ्चालन गर्न लागिएको समेत सो अवसरमा जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्