सल्यानका राजनीतिक दलको चुनावी तयारी, जोड घटाउमा व्यस्त

सल्यान । स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै सल्यानका राजनीतिक दलहरू चुनावी तयारी र जोड घटाउमा व्यस्त हुन थालेका छन् । माओवादी केन्द्र, एमाले, कांग्रेस, एकीकृत समाजवादी चुनावी रणनीति बनाउन लागी परेका हुन ।
अघिल्लो निर्वाचनको परिणामको विश्लेषण गर्दै जितका स्थानमा विरासत जोगाउने, अरूका किल्ला भत्काउने र नयाँ किल्ला बनाउने गरी दलहरू चुनावी अभियानमा जुटेका छन् ।
तीन नगरपालिका र सात गाउँपालिका सहित ८३ वडा रहेको सल्यानमा आफ्नो किल्ला जोगाउने सोचका साथ दलहरू घरदैलोमै पुग्न थालेका छन् ।
आगामी चुनावलाई लक्षित गरेर वडा कमिटी बैठक, पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम भइरहेको नेकपा (माओवादी केन्द्र) सल्यानका इन्चार्ज कर्ण बहादुर बुढाथोकीले बताउनुभयो । अघिल्लो निर्वाचनको भन्दा झन्डै थप ४० प्रतिशत अन्य स्थानमा जित निकाल्ने लक्ष्यका साथ जिल्लाका सबै स्थानीय तहमा अभियानलाई तीव्रता दिएको उहाँको भनाई छ । अघिल्लो निर्वाचनको परिणाम विश्लेषण गर्दै जितेका स्थानमा विरासत जोगाउने, अरूका किल्ला भत्काउने योजनाका साथ लागि परेको उहाँको भनाई छ ।
यस्तै एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले पनि वडा बैठक, टोल कमिटी गठन, बैठक, वडा स्तरीय जनसङ्गठन विस्तार, पालिका, वडा कार्यालय स्थापना लगायतका कार्यक्रम गरी रहेको एकीकृत समाजवादीका जिल्ला सचिव रमेश कुमार गौतमले बताउनुभयो । एमालेबाट विभाजन भएपछि पहिलो पटक निर्वाचनमा होमिएको समाजवादी सङ्गठन निर्माणलाई जोड दिँदै आइरहेको छ ।
निर्वाचनसम्म गठबन्धन भए पनि नभए पनि एक्लै जित निकाल्ने सोचका साथ घरदैलो अभियानमा जुटेको नेपाली काँग्रेसले जनाएको छ । अघिल्लो चुनावको भन्दा बढी सिट जित्ने लक्ष्यका साथ कार्यकर्ता भेटघाट तथा केन्द्रीय अभियान अनुसार गाउँ गाउँमा पुगी रहेको काँग्रेसका जिल्ला सभापति केश बहादुर विष्टले बताउनुभयो ।
८३ वडा रहेको सल्यानमा २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र ३२, एमाले २७, कांग्रेस २३ र राप्रपाले १ वडामा जित हात पारेका थिए । २७ वडा जितेका एमालेमा अहिले भने १० वडाध्यक्ष मात्र रहेका छन् । १७ वडाध्यक्षले एकीकृत समाजवादी रोजेका छन् ।
माओवादी केन्द्रले बागचौर नगरपालिकामा मेयर र उपमेयर, दार्मा र कुमाख गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र बनगाड कुपिण्डे नगरपालिकामा उपमेयर जित हात पारेको थियो ।
यस्तै एमालेले कालीमाटी, सिद्ध कुमाख र कपुरकोट गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ भने बनगाड कुपिण्डे नगरपालिकामा मेयर मात्र जितेको छ । काँग्रेसले शारदा नगरपालिकामा मेयर र उपमेयर, छत्रेश्वरी र त्रिवेणी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेका थिए ।
एमालेबाट निर्वाचित सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष र कपुरकोट गाउँपालिका उपाध्यक्ष एकीकृत समाजवादी तिर गएका छन् ।








प्रतिक्रिया राख्नुहोस्