तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली हात्तीको बथानद्वारा केरा खेतीमा क्षति

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ खजुवापट्टीमा जङ्गली हात्तीको बथानले केरा खेतीमा क्षति पुर्‍याएको छ।

बिहान सबेरै केरा फार्ममा पसेको हात्तीले एक हजार वटा भन्दा बढी केराका बोटमा क्षति गरेको हो। बजारमा लैजानका लागि तयारी अवस्थाका केरा हात्तीले क्षति गरेको फार्मका सञ्चालक जगन्नाथ जोशीले बताए। उनका अनुसार हात्तीको बथानले एक बिघामा लगाइएको केराका बोट पुरै ढालेको छ ।

करिब २० वटा हात्तीको बथानले धेरै नोक्सान गरेको जोशीले बताए। राति फेरि हात्तीको बथान फर्केर आउने सम्भावना रहेकाले चिन्तित रहेको उनको भनाइ छ।

निकुञ्जका कर्मचारी, प्रहरी र वडा अध्यक्ष लगायतका जनप्रतिनिधिले हात्तीले क्षति पुर्‍याएको फार्मको अवलोकन गरी क्षतिबारे स्थलगत मुचुल्का तयार गरेका छन् ।

जोशीले सिद्ध बैजनाथ माध्यमिक विद्यालय बन्साहाको चलन भोगमा रहेको ६ विघा जग्गा लिजमा लिएर केरा फार्म सञ्चालन गरेका छन् ।

विद्यालयको १२ बिघामध्ये ६ बिघामा केरा खेती र अन्य जग्गामा प्याज लगायतको तरकारी खेती छ। विद्यालयलाई वार्षिक रुपमा ६ लाख रुपैयाँ ज्याला बुझाउने गरी जग्गा भाडामा लिएको उनले बताए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button