तपाईँ सुन्दै हुनुहुन्छः

महिनौँदेखि सडकमै ढल, स्थानीय सरकार मौन

पाल्पा । गत स्थानीय निर्वाचनमा स्थानीय जनप्रतिनिधिले स्मार्ट सिटीको रुपमा घोषणा गरेको तानसेन नगरमा बाह्रै महिना सडकबाट ढल बग्दा स्थानीय सरकार बेखवर बनेको छ ।

सडकबाट ढल बग्दा स्थानीय बासिन्दा दुर्गन्धको सिकार बन्दै गएका छन् । तानसेन क्याम्पस रोडमा महिनौँसम्म सडकबाट ढल बग्दा कालोपत्रे गरेको सडक समेत भत्किएको छ ।

तानसेन बसपार्कका होटेल व्यवसायी मधु पराजुलीले वर्षा याममा मात्र नभएर बाह्रै महिना दुर्गन्धको सिकार बन्नु परेको बताउनुभयो । पटक पटक स्थानीय सरकारसँग आफूले आवाज उठाए पनि आफ्नो आवाज सम्बोधन नभएको उहाँले बताउनुभयो ।

समस्या पराजुलीको मात्र नभई बसपार्क क्षेत्रका ५० औँ घरपरिवार र यस सडकमा पैदल यात्रा गर्ने यात्रु समेतको हो । बसपार्क तथा क्याम्पस रोडका सडकमा यात्रा गर्दा नाकै थुन्नुपर्ने अवस्था आएको छ ।

नगर सरकारले तानसेनलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने भनेर घोषणा गरेको थियो ।

सुख्खा मौसमसँगै फोहर तथा ढलका कारण सङ्क्रामक रोग फैलिने डर भएको स्थानीय बताउँछन् ।

स्थानीय सरकारका प्रतिनिधि सागरमान महर्जनले स्थानीय सरकार यस विषय गम्भीर रहेको बताउनुभयो । स्थानीयको समस्या समाधानको लागी नगर सरकारले टेन्डर प्रक्रिया अगाडी बढाए पनि ढलको फोहरका कारण निर्माण व्यवसायी टेन्डर प्रक्रियामा सहभागी नभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button