तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा नवजात शिशु मृत्युदर बढ्दो 

सल्यान । सल्यानमा नवजात शिशु मृत्युदर घटाउन विभिन्न कार्यक्रम गरेपनि नवजात शिशु मृत्युदर घटन नसकेको पाइएको छ । नियमित गर्भ परीक्षण नहुनु, स्वास्थ्य सम्बन्धी ज्ञानको अभाव लगायत कारण वार्षिक धेरै नवजात शिशुहरूको मृत्यु हुँदै आइरहेको छ । 

स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्क अनुसार ३ वर्षको अवधिमा ३ आमा र ३८ नवजात शिशुको मृत्यु भएको छ । आर्थिक वर्ष ०७६/०७७ मा १८, ०७७/०७८ मा १५ र चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म ५ नवजात शिशुको मृत्यु भएको कार्यालयका सूचना अधिकारी थलराज डिसीले बताउनुभयो । 
तीन वर्षको बीचमा कालीमाटीमा २ र दार्मामा १ गरी ३ जना आमाहरूको मृत्यु भएको छ । गर्भमै १ सय १० जनाको मृत्यु भएको उनले जानकारी दिए ।  उनका अनुसार आर्थिक वर्ष ०७६/७७मा २७ वटा, ०७७/०७८ मा ५९ वटा र ०७८/०७९को साउन देखी हालसम्म २४ वटा मृत जन्म सङ्ख्या रहेको कार्यालयले जनाएको छ ।

जिल्लामा मातृ तथा शिशु मृत्युभन्दा मृत जन्मनेको सङ्ख्या बढिरहेको सूचना अधिकारी डिसीले बताउनुभयो । उनका अनुसार चेतनाको अभाव र भौगोलिक विकटताका कारण समयमै स्वास्थ्य चौकी पु¥याउन नसक्दा नवजात शिशुको मृत्यु र मृत जन्मनेको सङ्ख्या बढिरहेको हो । चालु आर्थिक वर्षको ६ महिनामा २४ जना मृत जन्मिएको उहाँले जानकारी दिनुभयो ।

व्यथाले च्यापेको धेरै समय बित्दासमेत परिवारले लापरबाही गर्दा अधिकांश बच्चाको गर्भमै मृत्यु हुने गरेको सल्यान जिल्ला अस्पतालका विशेषज्ञ डा. अभिषेक सिंहले बताउनुभयो । उहाँका अनुसार सानै उमेरमा विवाह हुनु, गर्भ चेकजाँचमा ध्यान नदिनु, खानपिन र स्याहार सुसारमा बेवास्ता लगायत कारण मातृ तथा शिशु मृत्युको जोखिम बढेको छ । महिलाहरू अझै असुरक्षित रूपमा घरमै सुत्केरी हुँदा आमा र शिशु दुवैको ज्यान जोखिममा पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button