तपाईँ सुन्दै हुनुहुन्छः

‘संस्थागत र नियामकीय क्षमतालाई प्रभावकारी रूपले अघि बढाइने’

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष रमेशकुमार हमालले धितोपत्र बोर्डको संस्थागत र नियामकीय क्षमतालाई प्रभावकारी रूपले अघि बढाउने बताउनुभएको छ ।

बोर्डले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष हमालले धितोपत्र बजारलाई अहिलेको सुपरिवेक्षण क्षमताले मात्रै नपुग्ने भएकोले स्वचालित निगरानी प्रणालीको स्थापनाका लागि छलफल अघि बढाएको बताउनुभयो ।

धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले हालसम्म सेबोनको आफ्नै कार्यालय भवन नहुँदा घर भाडामा लिएर काम चलाउनु परेको उल्लेख गर्दै आफ्नो कार्यकालमा धितोपत्र बोर्डको आफ्नो भवन निर्माण शुरु गर्ने उल्लेख गर्नुभयो ।

धितोपत्र बोर्डको सूचना व्यवस्थापन प्रणाली ‘म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’को क्षमता वृद्धि गर्ने र बजारका लागि नयाँ औजारहरूको प्रयोग अघि बढाउने प्रतिबद्धता पनि जनाउनुभयो ।

पत्रकार सम्मेलनमा अध्यक्ष हमालले धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीहरूलाई कारोबारमा आउन आग्रह गर्दै त्यसको लागि नेपाल धितोपत्र बोर्डले आवश्यक सहजीकरण गर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button