नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको पूर्ण बैठक सुरु भएको भएको छ ।
शुक्रवार बसेर स्थगित गरिएको केन्द्रिय समितिको बैठक आज गौशालास्थित अनुपम फुडल्याण्डमा केही समय अघि सुरु भएको हो ।
बैठकमा पार्टी सङ्गठन र निर्वाचन तयारी लगायतका विषयमा छलफल हुने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय सदस्यहरूको मनोनयन, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन, कार्यविभिाजन, निर्वाचनको तयारी र एमसीसीका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
शुक्रवार सुरु केन्द्रिय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थिति र एमसीसी बारेमा र नेता नारायणकाजी श्रेष्ठले एमसीसी सम्झौताका विषयमा पार्टीले खेलेको भूमिकाका विषयमा धारणा राख्नुभएको थियो ।
पार्टीको विधान अनुसार ६३ जना केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको टुङ्गो लगाउन बाँकी छ ।
गत पुसमा भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले चयन गरेको केन्द्रीय सदस्यहरूको पहिलो बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निरन्तरता दिए पनि पदाधिकारी चयनमा सकस देखिएको छ ।
माओवादी केन्द्रको विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।








प्रतिक्रिया राख्नुहोस्