तपाईँ सुन्दै हुनुहुन्छः

१३२ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति लिन प्राधिकरणको आह्वान

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगहरूलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति लिन आह्वान गरेको छ ।

उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियान अन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक कोरिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगहरूलाई १३२ केभीबाट विद्युत् आपूर्ति दिने छ ।

त्यस क्षेत्रका उद्योगहरूले अहिले ११ र ६६ केभी लाइनबाट विद्युत् आपूर्ति लिइरहेका छन् । १३२ केभीबाट विद्युत् आपूर्ति लिएमा त्यसको महसुल सस्तो छ । उद्योगहरूले आफ्नो परिसरमा सब स्टेसन भने आफैँले निर्माण गर्नु पर्नेछ । महसुल सस्तो पर्ने र चुहावट पनि कम हुने भएकोले त्यसको तुलनामा सब स्टेसन निर्माण महँगो पर्दैन ।

प्राधिकरणले बारा–पर्सा औद्योगिक कोरिडोर क्षेत्रमा ५ वर्षभित्रमा २ हजार मेगावाट विद्युत् खपत हुने गरी पूर्वाधार बनाउन बनाउन पहल सुरु गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा उच्चस्तरीय टोलीले शनिबार त्यस क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरी ४०० र १३२ केभी प्रसारण लाइन तथा सब स्टेसन निर्माणका लागि सम्भावित ठाउँ,विद्युत् माग तथा खपतको अवस्था लगायतका विषयमा जानकारी लिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button