सङ्कटा क्लब पाँचौँ झापा गोल्डकपको क्वार्टर फाइनलमा
झापा । सङ्कटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सङ्कटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आज भएको खेलमा सङ्कटाका उत्तम राईले ६५ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोडे फोफोनाको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका थिए ।

खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रामक खेल खेलेका थिए । पुलिसले गरेका केही आकर्षक आक्रमण सङ्कटाका गोलरक्षक रोहित कार्कीले उत्कृष्ट बचाउ गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । दोस्रो हाफमा दुवै टोली आक्रामक बने पनि स्कोर भने सङ्कटाले मात्र गर्न सफल भयो ।
आजको खेलको प्लेयर अफ द म्याच विजेता टिम सङ्कटाका फोडे फोफोना घोषित भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरे । प्लेयर अफ द म्याचको सौजन्य युवा व्यवसायी श्याम प्रसाईँले प्रतियोगिताभर गर्नुभएको छ । फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ भने उपविजेताले ६ लाख पाँच हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, स्ट्राइकरले नगद २१ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् । पाँचौँ संस्करणको झापा गोल्डकपको मुख्य प्रायोजक चौधरी ग्रुपको नेपाल आइस हो ।
प्रतियोगिताअन्तर्गत भोलि पहिलो क्वार्टर फाइनल खेल हुनेछ । त्यसका लागि सशस्त्र प्रहरीको एपीएफ क्लब र सातदोबाटो यूथ क्लब प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनु भयो । एपीएफ सोझै क्वार्टर फाइनलमा पुगेको हो । सातदोबाटो जावलाखेललाई हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्