मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७७ को पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको छ ।
काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दै एनएसजेएफको खेलाडी छनोट समितिले मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो ।
मनोनयनमा पर्ने खेलाडीमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबल टेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाल रहेका छन् । पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिने छन् ।
पिपल्स च्वाइस विधाको लागि ई सेवाको मत भार ५० प्रतिशत रहेको छ ।
त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मत भार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मत भार १२ दशमलव ५ प्रतिशत र खेल पत्रकारको मत भार १२ दशमलव ५ प्रतिशत रहेको छ । स्पोर्ट्स अवार्ड चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा हुने छ ।
एक दशक अघिका उत्कृष्ट खेलाडीहरू यस पटक दशक अवार्डका लागि मनोनीत हुनेछन् ।
यस वर्ष पनि दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।








प्रतिक्रिया राख्नुहोस्