गठबन्धनलाई निरन्तरता दिनु आवश्यक छ: नेता गच्छदार
विराटनगर । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले सत्ता गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकार निर्माणका लागि मात्र नभएर गठबन्धन जनता र राष्ट्रको आवश्यकता भएको बताउनुभयो ।

नेता गच्छदारले गठबन्धन जहिलेसम्म अगाडी बढ्छ त्यति बेलासम्म जान दिनुपर्छ भन्नुहुँदै गठबन्धनको आयु कति छ भनेर आफूले भन्न नसक्ने बताउनुभयो ।
पूर्व उपप्रधानमन्त्री गच्छदारले सरकार बनाउन मात्र नभई सदनबाट एमसिसी पास गर्न गठबन्धन दलहरूको सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो । मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाउन एमसिसी संसदबाट पास गरिएको उहाँको भनाई थियो ।
उहाँले आगामी निर्वाचनमा गठबन्धनबाट काँग्रेसले फाइदा लिन सक्नुपर्नेमा पनि जोड दिनुभयो ।
उहाँले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गराउनुको विकल्प नभएको बताउनुभयो । मुलुकलाई सही ट्र्याकमा ल्याउन निर्वाचन आवश्यक रहेको उहाँको भनाई थियो । उहाँले तिनै तहको निर्वाचन सही समयमा हुने भन्नुहुँदै अहिले अर्लि इलेक्सनको आवश्यकता आफूले नदेखेको प्रस्ट पार्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्