तपाईँ सुन्दै हुनुहुन्छः

फेँदिखोला गाउँपालिकाद्वारा सार्वजनिक सवारी करमा २० प्रतिशत अनुदान    

स्याङ्जा।  स्याङ्जाको फेँदिखोला गाउँपालिकाले यातायात व्यवसायीहरूलाई करमा २० प्रतिशत राहत वितरण गरेको छ । 

आर्थिक वर्ष २०७७/०७८ को वार्षिक सवारी करमा २० प्रतिशत अनुदान वितरण गरेको हो । 

कोभिडका कारण गत वर्ष भएको लकडाउनको मारमा परेका सार्वजनिक यातायात व्यवसायीलाई वार्षिक करको २० प्रतिशत अनुदान वितरण गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । 

अध्यक्ष सुवेदीले भन्नुभयो, “गत वर्ष कोभिडका कारण धेरै यातायात व्यवसायी मर्कामा पर्नुभयो । सवारी साधन सञ्चालन नभए पनि कर बुझाउनुपर्ने उहाँहरूको बाध्यता थियो । यातायात व्यवसायीहरूलाई सानो सहयोग गरौँ भन्ने हेतुले साढे ३ लाख रकम बजेट विनियोजन गरी करमा अनुदान दिएका हौँ ।”

केन्द्र तथा प्रदेशले समेत यातायात करमा छुट नदिएको अवस्थामा गाउँपालिकाले सानो प्रयास गरेको अध्यक्ष सुवेदीले बताउनुभयो । 

फेँदिखोला स्थायी बसोबास भएका यातायात व्यवसायीहरूले कम्तीमा ५ हजारदेखि ३० हजारसम्म करमा अनुदान प्राप्त गरेका छन् । 

वार्षिक बुझाउनुपर्ने रकमले २० प्रतिशतले हुन आउने रकम यातायात व्यवसायीहरूले प्राप्त गरेका हुन् । पालिकाका ३० जना यातायात व्यवसायीले करमा अनुदान लगेका छन् । 

कालो नम्बर प्लेट भएका सार्वजनिक सवारीहरू, बस, टिप्पर, ट्र्याक्टर, जिपलगायतका यातायात व्यवसायीहरूले अनुदान रकम प्राप्त गरेका हुन् । 

पालिकाले कोभिडका कारण मर्कामा परेका सार्वजनिक यातायात व्यवसायीलाई निवेदनको आव्हान गरेको थियो । उक्त निवेदनको आधारमा सार्वजनिक यातायात व्यवसायीले अनुदान प्राप्त गरेका हुन् । 

केन्द्र तथा प्रदेशबाट कुनै राहत नपाएपछि पालिकाले करमा छुट अनुदान दिएर व्यवसायीलाई प्रोत्साहन मिलेको व्यवसायीहरूको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button