सल्यानका १० वटै स्थानीय तहले कार्यसम्पादन मूल्याङ्कनमा ६० अङ्क ल्याउन सकेनन्

सल्यान । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सल्यानका कुनै पनि स्थानीय तहले ६० अङ्क ल्याउन सकेका छैनन् ।
जिल्लाका १० स्थानीय तह मध्ये सबैभन्दा बढी अङ्क शारदा नगरपालिकाले प्राप्त गरेको छ भने सबैभन्दा कम अङ्क छत्रेश्वरी गाउँपालिकाले प्राप्त गरेको छ ।
शारदा नगरपालिकाको ५९.६६ अङ्क रहेको छ भने छत्रेश्वरी गाउँपालिकाको ३८.६० अङ्क रहेको छ ।
आयोगले सार्वजनिक गरेको कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अङ्क र तथ्याङ्क अनुसार त्रिवेणी गाउँपालिकाले ५५.२९, कालीमाटी गाउँपालिकाले ५४.९८ र कपुरकोट गाउँपालिकाले ५४.२४ अङ्क प्राप्त गरेका छन् ।
यस्तै, सिद्ध कुमाख गाउँपालिकाले ४८.६५, बनगाड कुपिण्डे नगरपालिकाले ४६.४४, दार्मा गाउँपालिकाले ४५.९७, कुमाख गाउँपालिकाले ४५.२३ र बागचौर नगरपालिकाले ४३.६९ अङ्क प्राप्त गरेका छन् ।
नगरपालिका तर्फ सबैभन्दा बढी शारदा र सबैभन्दा कम अङ्क बागचौर नगरपालिकाले प्राप्त गरेका छन् भने गाउँपालिका तर्फ सबैभन्दा बढी त्रिवेणीले ५५.२९ र सबैभन्दा कम छत्रेश्वरीले ३८.६० अङ्क प्राप्त गरेका छन् ।
कार्यसम्पादन मूल्याङ्कनका लागि वित्त आयोगले स्थानीय तहका लागि १७ वटा सूचक तय गरेको थियो । जिल्लाका कुनै पनि स्थानीय तहहरूले ६० अङ्क पनि ल्याउन सकेका छैनन् ।
आर्थिक वर्ष २०७९÷०८० का लागि सङ्घीय सरकारबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम यही मूल्याङ्कनको आधारमा सिफारिस हुने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्