तपाईँ सुन्दै हुनुहुन्छः

महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ११ सदस्यीय महाअभियोग प्रस्ताव सिफारिस समिति गठन भएको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बिरोधका बीच सुरु भएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग सिफारिस समिति गठन सम्बन्धी प्रस्ताव पेश गर्नुभयो । 

बैठकमा सभामुख सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव प्रक्रिया अघि बढाउन ११ सदस्यीय महाभियोग सिफारिस समिति बहुमतले स्वीकृत भएको जानकारी दिनुभयो ।  

समितिका सदस्यहरूमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मीन बहादुर विश्वकर्मा, यशोदा गुरुङ, राम बहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित र शिवमाया तुम्बाहाम्फे रहनुभएको सभामुख सापकोटाले बताउनुभयो । 

प्रधानन्यायाधीश जबराविरुद्ध यही फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको  थियो । 

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९८ सांसदको हस्ताक्षर सहित प्रधानन्यायाधीश विरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको थियो । महाभियोगपछि प्रधानन्यायाधीश जबरा स्वतः निलम्बित हुनुभएको छ । 

यसैगरी बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औँ वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेश गर्नुभयो । 

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २९ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button