तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक पुनः स्थगित

काठमाडौँ। आजसम्मका लागि स्थगित गरिएको नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक पुनः स्थगित भएको छ ।

शुक्रवार सुरु केन्द्रिय समिति बैठक आज ११ः०० बजेका लागि तय गरिएको बैठक आज बस्दै नबसी आज पनि स्थगित गरिएको हो । 

बैठकमा केन्द्रीय सदस्यहरूको मनोनयन, पोलिटब्युरो, स्थायी समिति  र पदाधिकारी चयनका साथै कार्य विभाजनलगायत स्थानीय निर्वाचनको तयारी, एमसीसीका सन्दर्भमा पार्टीले लिएको निर्णयको समीक्षा र महत्त्वपूर्ण विधेयक पेस गर्न संसद् सुचारु गर्न आग्रह गर्ने लगायतका प्रस्ताव तय गरिएको थियो । 

शुक्रवार सुरु भएको पार्टीको केन्द्रिय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थिति र एमसीसीबारे र नेता नारायणकाजी श्रेष्ठले एमसीसी सम्झौताका विषयमा पार्टीले खेलेको भूमिकाका विषयमा धारणा राख्नुभएको थियो । 

पार्टीको आठौँ महाधिवेशनले अनुमोदन गरेको विधान अनुसार २ सय ९९ सदस्यीय केन्द्रीय समितिमा ६३ जना केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको टुङ्गो लगाउन बाँकी छ । 

गत पुसमा भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले चयन गरेको केन्द्रीय सदस्यहरूको पहिलो बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निरन्तरता दिने निर्णय लिएको थियो । 
माओवादी केन्द्रको विधान अनुसार पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button