दोस्रो लिस्तिकोट दुगुना गढी ट्रेल रेसको उपाधि महतरालाई
सिन्धुपाल्चोक । दोस्रो लिस्तिकोट दुगुना गढी माउन्टेन ट्रेल रेसको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले जित्नुभएको छ ।
खुलातर्फको प्रतियोगितामा महतराले २ घण्टा १४ मिनेट ३० सेकेन्डमा साँढे चौबिस किलोमिटरको दुरी पार गरेर पहिलो हुनुभयो । ११८ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जित्नुभएका महतराले रु १ लाख १० हजार नगद पुरस्कार पाउनु भएको छ ।

प्रतियोगितामा २ घण्टा १६ मिनेट १० सेकेन्डमा निर्धारित दुरी पार गरेर त्रिभुवन आर्मी क्लबकै श्रीकास राई दोस्रो हुनुभयो । उहाँले ७५ हजार नगद पुरस्कार पाउनु भएको छ भने सोलुखुम्बुका सुमन कुलुङले २ घण्टा २१ मिनेटमा निर्धारित दुरी पार गरेर तेस्रो हुनुभएको छ । उहाँले रु ५५ हजार पुरस्कार पाउनु भएको छ ।
चौथो, पाँचौँ र छैटौँ हुन सफल भीमबहादुर गुरुङ, राजेन्द्र राई, र याङदेव राईले क्रमशः ४० हजार, ३० हजार र २० हजार नगद पुरस्कार जित्नुभयो ।
त्यस्तै महिलातर्फ सिन्धुपाल्चोककी नितु तामाङ प्रथम हुनुभयो । उहाँले ३ घण्टा १७ मिनेटमा निर्धारित दुरी पार गरी रु ६० हजार नगद पुरस्कार जित्नुभयो । दोस्रो र तेस्रो क्रमशः सिन्धुपाल्चोकै भगवती खत्री र दोलखाकी पासाडिकी शेर्पाले ३५ हजार र २० हजार पुरस्कार पाउनुभएको छ ।
जिल्लातर्फ गणेशसिंह ठकुरी, राहुल तामाङ र श्यामकुमार तामाङ क्रमशः प्रथम, द्वितीय र तृतीय हुनु भएको छ । उहाँहरूले क्रमशः ३० हजार २० हजार र १५ हजार पुरस्कार पाउनुभयो ।
जिल्ला न्यायाधीश चन्द्रप्रकाश तिवारी, श्री नम्बर २६ का सहायक रथी ज्योतिन्द्र महत, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले विजेताहरूलाई पुरस्कार वितरण गर्नुभयो ।
भोटेकोसी गाउँपालिकाको मुख्य प्रायोजन र नेपाली सेना गोरख बक्स गणको सहकार्य तथा व्यवस्थापनमा गत वर्षदेखि ट्रेल रेसको आयोजना हुँदै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्