तपाईँ सुन्दै हुनुहुन्छः

‘घृणाको राजनीतिक गरेर राष्ट्रवादी बन्ने सोचमा परिवर्तन आवश्यक’

जनकपुरधाम । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफूलाई बढी राष्ट्रवादी देखाउनका लागि घृणाको राजनीतिक गर्ने सोच एवं प्रवृत्तिको अन्त्य गर्न आवश्यक भएको बताउनुभएको छ ।

महामन्त्री थापाले जनकपुरधाममा समापन भएको जनकपुर साहित्य महोत्सवको राजनीतिक संवाद कार्यक्रममा कुनै देश, क्षेत्र वा समुदाय प्रति घृणा गर्ने प्रवृत्तिको अन्त्य गरी साँचो अर्थमा राष्ट्र निर्माणको अभियान बढाउन आफूहरू लागेको बताउनुभयो ।

महामन्त्री थापाले नेपाली काँग्रेसको सदस्यताको घेरा फराकिलो पारेर आम जनताको पार्टी बनाउने एजेन्डामा आफूले मत पाएर कार्यकारी पदमा पुगेकाले सोही अनुसार पार्टी सञ्चालन गर्ने पक्षमा रहेको बताउनुभयो ।

उहाँले निर्वाचनमा हुने अनावश्यक खर्चलाई नियन्त्रण गर्न पार्टीको मतको आधारमा राज्यले नै रकम उपलब्ध गराए निर्वाचनलाई मर्यादित बनाउनमा मद्दत पुग्ने भएकाले निर्वाचन खर्च प्रणालीको व्यवस्थामा सुधार हुनुपर्ने धारणा राख्नुभयो ।

महामन्त्री थापाले अहिलेको राजनीतिमा परिवर्तन गर्नका लागि युवाको हातमा देशको नेतृत्व जान आवश्यक भएको बताउँदै हरेक परिवर्तनमा युवाहरूको अग्रणी भूमिका हुने भएकाले राष्ट्र निर्माणको अभिभारा युवाहरूलाई नै दिनुपर्दछ भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button