तपाईँ सुन्दै हुनुहुन्छः

‘समृद्धि विकासका लागि सबै वर्ग र समुदाय जुट्नुपर्छ’

बीरगंज । मधेस प्रदेश सरकारका अर्थमन्त्री एवं प्रवक्ता शैलेन्द्र प्रसाद साहले समाज परिवर्तन तथा मधेस प्रदेशको समृद्धि र विकासका लागि सबै वर्ग र समुदाय जुट्नुपर्नेमा जोड दिनुभएको छ ।

तेली कल्याण समाज पर्साको ५ औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई आज वीरगन्जमा सम्बोधन गर्दै अर्थमन्त्री साहले समाज परिवर्तनसँगै राज्यसँग पहिचान, पहुँच र प्रतिनिधित्वका लागि सङ्घर्ष गर्दै समाजलाई अगाडी बढ्न आग्रह गर्नुभयो ।

उहाँले आधी आकाश ढाकेका महिलालाई अवसरको खोचे रहेको कुरालाई जोड दिँदै छोरा सरह छोरीलाई अवसर र शिक्षा नदिँदा मधेसमा समस्या भएको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले महिला सशक्तीकरणका लागि बेटी बचाउ, बेटी पढाऊ अभियान, छोरी बिमा कार्यक्रम जस्ता लोकप्रिय कार्यक्रम अगाडी बढाएको भन्दै तेली समुदायको मधेसमा दरो उपस्थिति भए पनि प्रतिनिधित्वमा अझै सशक्त बन्न नसकेको हुँदा तेलीसँगै वैश्य समुदायसँग कार्यगत एकता गरेमा ठूलो शक्ति निर्माण हुने दाबी समेत गर्नुभयो ।

कार्यक्रममा मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले व्यापार व्यवसायसँगै समाजको सशक्तीकरणका लागि तेली समुदाय राजनीतिमा समेत लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले समाज परिवर्तनका लागि राजनीति अपरिहार्य रहेको हुँदा समुन्नत समाज निर्माणका लागि व्यापार व्यवसायसँगै राजनीतिमा समेत महत्त्वपूर्ण स्थान ओगट्न तेली समुदायलाई आग्रह गर्नुभयो । उहाँले तेली समुदाय जातीय आधारमा मधेसमा तेस्रो स्थितिमा रहेको खुलासा गर्दै अब राजनीतिक रुपमा भागिदारी र साझेदारी गर्दै नेतृत्वमा पुग्न जुट्नुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा सङ्घीय सांसद प्रमोद साहले बजार समाप्त पारेर तेली समाजमा शिक्षासँगै संस्कार समेत बदल्नुपर्ने अवस्था आएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य राजेश्वर साहले तेली समाजमा शिक्षा र धन भए पनि राजनीतिमा पहुँच नहुँदा पछाडि परेको बताउनुभयो ।

तेली समाजका संस्थापक सदस्य एवं केन्द्रिय उपाध्यक्ष विश्वनाथ साहले सोचमा परिवर्तन नआउँदा खुट्टा तान्ने प्रवृत्तिका कारण तेली समाज पछाडि परेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button